धरानः धरान–१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही फागुन ७ र ८ गते स्कुलको आयोजना र धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । यसअघि माघ ७ र ८ गते हुने भनिएको प्रतियोगिता कोरोनाको तेस्रो भेरियन्टका कारण रोकिएको स्कुलका प्रिन्सिपल राजकुमार लिम्बूले जानकारी दिए ।
प्रतियोगिताका संयोजक एवं होलिल्याण्ड स्कुलका बास्केटबल प्रशिक्षक नविन राईका अनुसार प्रतियोगितामा धरान र धरान आसपासका छात्रतर्फ १२ र छात्रातर्फ ९ टिमले सहभागिता जनाउनेछन् । धरानको सियोन, समिट, प्रहरी स्कुल, युएन स्कुल, डिपो मावि, सगरमाथा स्कुल र तरहराको स्कुलले पनि प्रतियोगितामा सहभागिता जनाउने प्रिन्सिपल लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा छात्रछात्रा दुवैतर्फका बिजेता तथा उपबिजेता टिमले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रको ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । बिजेताले नगद ५ हजार, एक हजार रुपैयाँ बराबरको कफी पब फुड भौचर, उपविजेताले २ हजार ५ सय रुपैयाँ, पाँच सय रुपैयाँ बराबरको कफी पब फुड भौचर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद १ हजार रुपैयाँ, पाँच सय रुपैयाँ बराबरको कफी पब फुड भौचर, पाँच सय रुपैयाँ बराबरको ज्वाइँखाना फुड भौचर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिए । थ्री बाइ थ्री का आधारमा प्रतियोगिता खेलाइने आयोजकले जनाएको छ ।