धरानः सुनसरीको धरान उपमहानगरपालिका–४ नौकिलो छेऊमा एक पुरुषको पुरै शरीरको भाग फेला परेको छ ।
बुधबार टाउको र दाहिने खुट्टा जेब्रामा प्याक गरिएको अवस्थामा फेला परेको र बिहीबार पुरै शरीरका अङ्ग फेला परेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए ।
‘देब्रे खुट्टा, हातलगायत शरीरको पुरै अङ्ग जेब्रा झोलामै प्याक गरिएको अवस्थामा फेला परेको छ’, उनले भने । उनका अनुसार क्षत्री, बाहुन समुदायका मानिसको मानिसको शरीरका सबै भाग (बुधबार भेटिएको टाउको र दाहिने खुट्टाबाहेक) भेटिएको छ । ‘शरीरमा उनले लगाएको जनैका आधारमा उनी क्षत्री वा बाहुन हुन् भन्ने जानकारी भइसकेको छ’, उनले थपे, ‘थप अनुसन्धान भइरहेको छ, कसले, किन र कसरी हत्या गरयो भन्नेबारेमा खुलिहाल्छ ।’
विभत्स अवस्थामा शवका टुक्रा भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले बिहान जङ्गल सर्च गर्ने क्रममा एक किलोमिटर माथि शरीरको भाग भेटिएको हो । ‘बिहान तालिम प्राप्त ‘डग’ सहित सर्च गर्ने क्रममा जिउको भाग भेटिएको छ’ उनले हाम्रो कोशी आवाज डटकमसँग भने, ‘शवको पहिचान अझै हुन सकेको छैन, शरीरको सबै भागको अब फरेन्सिक जाँच गर्छौ ।’
शवको प्रकृति हेर्दा कुहिन शुरु गरेको अवस्थाको छ । ‘कुहिन शुरु गरेको र दुर्गन्धित समेत थियो’, उनले भने ।
बुधबार जेब्रा झोलामा पुरुषको टाउको र दाहिने खुट्टा भेटिएको स्थानदेखि एक किलोमिटर नजिकको दुरीमा शरीर भेटिएको प्रहरीले जनाएको छ । अहिले कुकुरसहितको फरेन्सिक टोली शव लिएर फर्किसकेको छ ।
बुधबार जङ्गलमा दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीले खबर गरेका थिए । शवको प्रकृति हेर्दा टुक्राटुक्रा पारी हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।