धरानः धरानमा बुधबार साँझ धरान–४ स्थित कोशी राजमार्गको धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल क्षेत्रमा भेटिएको शवको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
पहिचान खुल्न नसकेपछि प्रहरीले अपिलसमेत गरेको छ । पहिचान हुन नसकेपछि प्रहरीले पुरुषको अनुहार प्रष्ट देखिने तस्वीर सार्वजनिक गर्दै सनाखतका लागि सहयोग गर्न अपिल गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शव अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । ‘अहिलेसम्म शवको पहिचान नै हुन सकेको छैन’, उनले भने, ‘त्यही भएर सनाखतका लागि सहयोग गर्न अपिलका लागि तस्वीर सार्वजनिक गरेका हौं ।’
बुधबार साँझ धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाईस्थित सडकबाट ४५ फिट पश्चिमतर्फ रहेको खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोलामा प्याक गरिएको अवस्थामा पुरुषको टाउको र खुट्टा फेला पारेको थियो । इप्रका धरानको डिएसपी कुँवरसहितको कमाण्डमा खटिएको ‘डग स्निफिङ’ सहितको प्रहरी अनुसन्धान टोली तथा बीपी प्रतिष्ठान धरानका फरेन्सिक विशेषज्ञ चिकित्सकसहितको अनुसन्धान टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा थप शरीरका अन्य अङ्गसमेत फेला पारेको जनाइएको छ ।
प्रहरीले मानव अङ्ग जोडेर बनाएको पूरा शरीरको तस्वीर ।
