धरानः होलिल्याण्ड इन्टरनेशनल स्कुलको आयोजनामा आयोजित अन्तरविद्यालय थी्र वाइ थी्र होलिल्याण्ड बास्केटबल प्रतियोगितामा महिलातर्फ आयोजक होलिल्याण्ड ए र लोटस स्कुल र पुरुषतर्फ डिपोट वी र चिल्ड्रेन्स एकाडेमी फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताको सेमिफाइनल खेलमा महिलातर्फ होलिल्याण्ड ए टिमले डिपोलाई ७–३ र लोटसले होलिल्याण्ड वी टिमलाई २–० अङ्कको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यसैगरी पुरुषतर्फ डिपोट वी टिमले डिपो ए टिमलाई ११–४ र चिल्ड्रेन्सले होलिल्याड ए लाई १३–८ अङ्कको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
शनिबार र आइतबार सम्पन्न हुने दुइदिने प्रतियोगितामा धरान र तरहराका गरी पुरुष तर्फ १९ टिम र महिलातर्फ १० टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका बिजेताले नगद पाँच हजार, एक हजार रुपैयाँ बरारको कफी पव फुड कुपन, उपबिजेताले नगद २ हजार ५ सय, ५ सय रुपैयाँ बराबरको कफी पव फुड कुपन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजार, ५ सय रुपैयाँ बराबरको कफी पव फुड कुपन, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक नविन राईले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला बास्केटबल सङ्घ सुनसरीका अध्यक्ष नारायण सुवेदी, होलिल्याड स्कुलका व्यवस्थापक अध्यक्ष खगेन्द्र लिम्बू, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरु गरिएको थियो । होलिल्याण्ड स्कुलको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा प्राविधिक सहयोग धरान बास्केटवल संघको रहेको छ ।
तस्वीरः विकास चाम्लिङ राई