धरानः धरानमा बक्सिङ खेल प्रतियोगिता भव्यताकासाथ सम्पन्न भएको छ । ‘अल नेपाल मिस्टर फेदरवेट बक्सिङ च्याम्पियन’ तथा ‘वीर गणेशमान सिंह १ नं. प्रदेश नोभिस बक्सिङ च्याम्पिसनसीप २०७’८ यही फागुन ५, ६ र ७ गते तीनदिन आयोजना भएको सुनसरी जिल्ला बक्सिङ सङ्घका अध्यक्ष विकासकुमार गुभाजुले जानकारी दिए ।
नेपाल बक्सिङ सङ्घको तत्वावधान तथा सुनसरी जिल्ला बक्सिङ सङ्घको आयोजना एवं धरान उपमहानगरपालिकाको संयोजकत्वमा प्रतियोगिता भएको उनले जानकारी दिए ।
कसले जिते प्रतियोगिता ?
अल नेपाल मिस्टर फेदरवेट बक्सिङ च्याम्पियनसीपअन्तर्गत भएको फाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलका सुमन नेपालीलाई ४–१ को स्पीलट डिसिजको आधारमा पराजित गरी बक्स माणडुका सरोज महर्जन अल नेपाल फेदरवेट च्याम्पियन बन्न सफल भएका छन् ।
यस्तै, शनिबार नै सम्पन्न वीर गणेशमान सिंह नोभिस बक्सिङमा पुरुष ४८ केजी तौल समूहअन्तर्गत भएको फाइनल खेलमा उदयपुरका मानबहादुर बुढाथोकी एविसीका उज्ज्वल सापकोटालाई ५–० अङ्कले पराजित गरी स्वर्ण पदक जित्न सफल भए । ५१ केजी तौल समूहअन्तर्गत विराटनगरका सागर यादवले एविसीका निरञ्जन राईलाई ५० ले पराजित गरी ५४ केजी तौल समूहमा एविसीका जीवन राईले झापाका निश्चल राजवंशीलाई एविसीको आधारमा पराजित भए ।

५६ केजी तौल समूहमा धरानका मौसम भुजेलले एविसीका कमल मगरलाई ४–१ को भएको आधारमा पराजित, ६० केजी तौल समूहमा एविसीका मौसम थलाङले धरानका सागर तामाङलाई आरएससीको आधारमा पराजित, ६३.५ केजी तौल समूहमा एविसीका सफल तामाङले झापाका अभिनास राईलाई ४–१ को अङ्कको आधारमा पराजित गराई ६७ केजी तौल समूहमा सुसन खड्गीले झापाका प्रसाङ लिम्बूलाई ३ः२ को अङ्कमा पराजित गरेका थिए ।
७१ केजी तौल समूहमा धरानका सहिल राईले दमकका जीवन राजवंशीलाई आरएससीको आधारमा पराजित गरे । ७५ केजी तौल समूहमा धरानका मिलन राईले उदयपुरका आयुष कार्कीलाई आरएससीको आधारमा पराजित गरी आ–आफ्नो तौलमा स्वर्ण पदक जित्न सफल भए ।
त्यसैगरी महिला ४८ केजी तौल समूहमा दमकका दिप्सा लिम्बूले धरानकी दिप्ती श्रेष्ठलाई ५–० अङ्कको आधारमा पराजित गरिन् । ५४ केजी तौल समूहमा धरानकी जोनी लिम्बूले उदयपुरकी मुस्कान तुलाधरलाई ५–० अङ्कले पराजित गरिन् । ६० केजी तौल समूहमा दमककी सुस्मिता लिम्बूले दमककी युना मगरलाई ५–० अंकको आधारमा पराजित गरी स्वर्ण पदक प्राप्त गरिन् ।
समापन समारोहमा विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिसदका पूर्व सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम आले, नेपाल बक्सिङ सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नरेन्द्रकुमार पोमोले पुरस्कार वितरण गरे ।







