धरानः धरान-४ मा शव टुक्रा टुक्रा पारेर जेब्रा झोलामा हालेर फाल्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान सुरु भएको हप्तादिन नबित्दै प्रहरीलाई सफलता मिलेको हो ।
इलाका प्रहरी कार्यालय धरानले यसबारेमा पुष्टि गरेको छ । ‘केही प्रगति भएको छ’, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले भने, ‘अहिले सनाखत भएको छ, अनुसन्धान जारी छ, अहिलेलाई यति नै बुझौं ।’
इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर हेमराज ओलीले अहिले अनुसन्धानकै प्रक्रियामा रहेकोले केही खुलाउन नमिल्ने बताए । ‘धेरै प्रगति भएको छ, दुईजना पक्राउ गरिसकेका हौं, अनुसन्धानको चरण सकिएको छैन, सबै कुरा पत्रकार सम्मेलनमार्फत् खुलाइहाल्छौं ।’
गत बुधबार र बिहीबार धरान–४ स्थित धरान भेडेटार सडक खण्डको जङ्लमा जेब्रा झोलामा फेला परेको थियो । जेब्रा झोलामा विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको थियो । टाउको, खुट्टा एकातिर र शरीर अर्कोतिर भेट्दा प्रहरी नै तीनछक्क परेको थियो ।
निलो, पहेंलो रङ्गको जेब्रा झोलामा पहिलोपटक खुट्टा र टाउको, त्यसपछि शरीर र विभिन्न अङ्ग फेला परेको थियो । प्रहरीले ती पुरुषको शरीर, टाउको र खुट्टालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखेको थियो ।
ती पुरुषले लगाएको सामान्य कपडाबाहेक अहिलेसम्म प्रहरीले अन्य सामग्री फेला पार्न नसकेपनि अहिले हत्याराको नजिक पुगेको बताएको छ । ‘कम्तीमा मोबाइलसम्म भेटेको भएपनि जानकारी हुने थियो’, इलाका प्रहरी कार्यालय धरानका डिएसपी कुँवर भन्छन्, ‘तर उनले लगाएको कपडाबाहेक केही भेटिएको थिएन तर पनि केही क्लूका कारण प्रहरी हत्यारानजिक पुगिसकेको छ ।’ तीन पुरुषले लगाएको सामान्य जिन्स पेन्ट र टिसर्टबाहेक केही भेटिएको थिएन । ती पुरुषले जनै लगाएका कारण नेपाली नै हो भन्ने जानकारी पाइसकेको थियो ।
प्रहरीले हत्या गरेर शव फालेको जनाएको छ । टुक्राटुक्रा पारिएको शवको प्रकृति हेर्दा हत्या अन्य ठाउँमा भएको र धरानको जङ्गलमा शव व्यवस्थापन गर्न ल्याइएको हुनसक्ने उनले बताए ।
प्रहरीले आफन्त नै मिलेर हत्या गरेको हुनसक्ने जनाएको छ ।