धरानः सुनसरीको धरान–४ को जंगलमा विभत्स अवस्थामा भेटिएको शवको सनाखत भएको छ ।
मृतक झापा दमक–५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
प्रदेश १ का प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविन राईका अनुसार दुईजना पक्राउ परिसकेको र उनकी कान्छी श्रीमती पनि पक्राउ गरिएको जानकारी दिए । प्रदेश प्रहरी प्रवक्ता राईका अनुसार हाल घटनामा संलग्न रहेको आशंकामा महिला र पुरुष पक्राउ परेका हुन् । ‘पक्राउ परेकी महिला सिग्देलकी कान्छी श्रीमती रहेको सम्म खुलेको छ’, उनले भने, ‘तर विस्तृत खुलाउन प्रहरीले पत्रकार सम्मेलन नै गर्नुपर्छ ।’
सिग्देल वैदेशिक रोजगारीबाट फर्केका थिए । उनी बहराइन पुगेर फर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ । ‘उनी नेपाल आएसँगै परिवार सदस्यकै योजना र संलग्नतामा हत्या भएको हुनसक्छ’, उनी भन्छन् ।
सिग्देलको हत्या कहाँ भएको थियो र शव टुक्राटुक्रा पारियो भन्नेबारेमा केही खुलिनसकेको उनले जानकारी दिए । गत फागुन ४ र ५ गते साँझ पौने ७ बजे सुनसरी धरान–४ स्थित धरान–भेडेटार सडकखण्डको वनमा निलो, पहेंलो रंगको जेब्रा झोलामा शव फेला परेको थियो ।
त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो । उनले उनका परिवारका सदस्य आएर मृतक दीपक सिग्देल भएको पुष्टि गरेपछि घटनाबारे थप खुलेको हो । –नाम परिमार्जित गरिएको छ ।