धरानस्थित इलाका प्रहरी कार्यालयअगाडि पत्रकारमाझ कुराकानी गर्दै जेठी श्रीमती (बायाँ) र जेठी श्रीमतीकी छोरी, मृतक सिग्देलको भाइलगायत आफन्त । तस्वीरः हाम्रो कोशी आवाज
धरानः धरान–४ मा एक पुरुषलाई टुक्रा टुक्रा पारेर जेब्रा झोलामा हालेर फाल्ने अन्ततः पक्राउ परेका छन् ।
परपुरुष (अर्कै पुरुष) सँग मिलेर योजनाबद्धरूपमा एक महिलाले श्रीमानको हत्या गरेको आफन्तले दावी गरेका छन् । इलामको चुलाचुली–५ बुकुवाका (हाल दमक–५ बस्दै आएका) ४४ वर्षीय दिनेश सिग्देलको योजनाबद्ध ढङ्गले नै हत्या भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
सिग्देलको हत्याको अभियोगमा कान्छी श्रीमती अनिता र उनीसँग लागेका अर्का व्यक्ति सरोज भण्डारीले योजनाबद्ध ढङ्गले नै हत्या गरेको सिग्देलकी जेठी श्रीमती निर्मला सिग्देलले जानकारी दिइन् । अहिले किटानी जाहेरी समेत दिइसकेको उनले जानकारी दिइन् । अभियुक्त दुवै लामो समयदेखि अनैतिक सम्बन्धमा थिए । आफन्तले दिएको जानकारी अनुसार ती युवाले बयानका क्रममा अनिताको गर्भ पनि रहेको जनाएका छन् ।
मदिरा सेवन गराउँदै लट्याउने औषधि खुवाएपछि घाँटी थिचेर उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मदिरा र लट्याउने औषधि खुवाएपछि दुईजना मिलेर फलाम काट्ने सामान (गेन्डर) प्रयोग गर्दै शरीर टुक्रा टुक्रा पारेको खुल्न आएको प्रहरीलाई उद्धृत गर्दै आफन्तले बताएका छन् ।
परपुरुष र मृतकको श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको र उनीहरूको सम्बन्धलाई लिएर दम्पत्तीबीच पटक–पटक विवाद हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मृतक सिग्देले डेढ वर्षदेखि बहराइनमा रोजगारीका क्रममा थिए । केही दिन अघिमात्र घर फर्केका थिए । उनी बहराइनमा सेक्युरिटी गार्डमा कार्यरत् थिए । उनी बहराइनमा ८० हजार रुपैयाँ मासिक कमाउँदै आएको खुलेको छ । उनी गत पुस २१ गते घर फिरेका थिए । उनी एकदिन काठमाडौंमा बसेको र २२ गते घर आएर विराटनगरस्थित पसलमा सपिङ गरेको र बेलुकी हत्या गरेको खुल्न आएको आफन्तले बताएका छन् ।

आफन्तका अनुसार २२ गते बेलुका घरमा आएपछि उनीहरुमध्ये ती महिलाले घरमा झगडा भयो भनेर सरोजलाई बोलाएकी थिइन् । उनी आएपछि हत्याको योजना बुनेको र घाँटी थिच्दै हत्या गरियो । त्यसपछि त्यो दिन शव घरको खाटमुनि राखियो । त्यसपछि सरोजले टेम्पो कुदाउने गरेको र त्यही टेम्पोमा हालेर शव भेडेटार जाने बाटोमा छोडियो । पहिलो पहिलोदिन दाहिने खुट्टा र टाउको र दोस्रो दिन शरीरका अन्य अङ्ग फालिएको प्रहरीले जनाएको छ ।
पहिलोदिन भेडेटारकै होटलमा बसेको र दोस्रो दिन फेरि अर्को शव फाल्न त्यहाँ आएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले लेनदेन र जग्गासम्बन्धी विवादका कारण हत्या भएको हुनसक्ने जनाएको छ । सिग्देलले कमाएको र जग्गा बेचेर पनि ती व्यक्तिलाई नै रकम दिने गरेको पनि खुलेको आफन्तले बताएका छन् । प्रहरीले उनीहरुले प्रयोग गरेको हतियारबारे थप जानकारी लिनुपर्ने भएकोले घटनाबारे विस्तृत खुलाइसकेको छैन । यसबारेमा मंगलबार पत्रकार सम्मेलनमार्फत् विस्तृत खुल्ने प्रहरीले जनाएको छ ।
मृतकको दुईवटा श्रीमती रहेका छन् । जेठीपट्टि दुईजना छोरा र दुईवटी छोरी रहेका छन् भने कान्छीपट्टि एउटा छोरी रहेका छन् ।
गत फागुन ४ गते धरानमा टाउको, खुट्टा र शरीरका विभिन्न अङ्गहरु फेला पारेको थियो । प्रहरीले यसबारेमा अनुसन्धानलाई तीब्रता दिएको थियो । त्यही क्रममा हप्तादिन पनि नबित्दै प्रहरीलाई ठूलो सफलता मिलेको हो ।
प्रहरीले मास्कले पत्ता लगायो
शरीरका अङ्ग फालिएको ठाउँमा प्रहरीले जिन्स पेन्ट र टिसर्ट फेला पारेको थियो । त्यहाँ एउटा मास्क पनि फेला परेको थियो । त्यो बहराइन कम्पनीले उत्पादन गरेको र त्यहीको कम्पनीको लोगोका कारण प्रहरीले घटनाबारे थप जानकारी लियो । बुझ्दै जाँदा त्यहाँको कम्पनीले लोगो आफ्नै रहेको बताएपछि हत्याराको नजिक प्रहरी पुगेको थियो । यस्तै, सोही कम्पनीमा कार्यरत् एकजना साथीले छुट्टी लिएर आएका सिग्देल नफर्केपछि सोधीखोजी गरेका थिए र घटनाबारे थप जानकारी मिलेको जनाइएको छ ।