धरानः धरान-४ मा एक पुरुषलाई टुक्रा टुक्रा पारेर जेब्रा झोलामा शव हालेर फाल्ने पक्राउ परेका छन् ।
पक्राउ परेपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे जानकारी दिएको हो ।
इलामको चुलाचुली–५ बुकुवाका (हाल दमक–५ बस्दै आएका) ४३ वर्षीय दिनेश सिग्देलको हत्याको अभियोगमा कान्छी श्रीमती वर्ष ३० की अनिता सिग्देल केसी र उनीसँग अनैतिक सम्बन्धमा लागेका वर्ष २९ का सरोज भण्डारीलाई सार्वजनिक गरेको हो । अनिताको माइती घर सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर रहेको सरोजको घर विराटनगर–४ इक्राही हो । उनी सिटी सफारी चालक समेत हुन् । प्रहरीका अनुसार अनिता सुनसरी बराक्षेत्र १० प्रकाशपुर घर भई इलाम साबिक बाँझो १ घर भई हाल विराटनगर महानगरपालिका वडा नं. ३ पिपलचोकमा डेरा कोठा लिई बसेकी थिइन् ।
सरोज विवाह भई १ छोरीको जायजन्म भएपछि निजको श्रीमतीसँग सम्बन्धमा दरार आई हाल माइतीमा नै बस्दै आएकी र निजहरु सम्बन्ध बिच्छेदको प्रकृयामा रहेको, मृतक लामो समय देखि बहराइनमा बस्ने र आउने जाने गरेको कारण निजको कान्छी श्रीमती अनिता र सरोजबीचमा प्रेम सम्बन्धमा रही ५–६ महिनादेखि निजहरु श्रीमान श्रीमती झै बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
श्रीमान दिनेश सिग्देलले कमाएको रकम अनितालाई पठाउने, सो रकम मोजमस्तीमा खर्च गर्ने लगायत कारणले लामो समयदेखि नै सम्बन्धमा खटपट रहेको र प्रेमी सरोजलाई रु.१ लाख ऋण दिएको हुँदा थप ७५ हजार दिने र दुवैजना विवाह गरी बस्ने सर्तमा अनिताले दिनेश नेपाल आउने जानकारी पाएपछि निजलाई हत्या गर्ने योजना बनाई योजनाबद्ध हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।
परपुरुष (अर्कै पुरुष) सँग मिलेर योजनाबद्धरूपमा हत्या गरेको पाइएको इलाका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार अभियुक्त दुवै लामो समयदेखि अनैतिक सम्बन्धमा थिए । ती युवाले बयानका क्रममा अनिताको गर्भ पनि रहेको जानकारी दिएको प्रहरीले बताएको छ ।

मृतक सिग्देलको तस्वीर ।
मदिरा सेवन गराउँदै लट्याउने औषधि खुवाउँदै गलबन्दीले कस्दै घाँटी थिचेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ । मदिरा र लट्याउने औषधि खुवाएपछि दुईजना मिलेर फलाम काट्ने सामान (गेन्डर) प्रयोग गर्दै शरीर टुक्रा टुक्रा पारेको खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
मृतक सिग्देल डेढ वर्षदेखि बहराइनमा रोजगारीका क्रममा थिए । केही दिन अघिमात्र घर फर्केका थिए । उनी बहराइनमा सेक्युरिटी गार्डमा कार्यरत् थिए । उनी बहराइनमा ८० हजार रुपैयाँ मासिक कमाउँदै आएको खुलेको छ । मृतकको दुईवटा श्रीमती रहेका छन् । जेठीपट्टि दुईजना छोरा र दुईवटी छोरी रहेका छन् भने कान्छीपट्टि एउटा छोरी रहेका छन् ।
शरीरका अङ्ग फालिएको ठाउँमा प्रहरीले जिन्स पेन्ट र टिसर्ट फेला पारेको थियो । त्यहाँ एउटा मास्क पनि फेला परेको थियो । त्यो बहराइन कम्पनीले उत्पादन गरेको र त्यहीको कम्पनीको लोगोका कारण प्रहरीले घटनाबारे थप जानकारी लियो । बुझ्दै जाँदा त्यहाँको कम्पनीले लोगो आफ्नै रहेको बताएपछि हत्याराको नजिक प्रहरी पुगेको थियो ।
मृतक सिग्देल भने पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएको र काठमाडौंमा एकदिन बसेको खुलेको प्रहरीले जनाएको छ । उनीहरु २१ गते काठमाण्डौंबाट विराटनगरसम्म बसमा आई कान्छी श्रीमती अनितालाई भेटी विराटनगर नोवेल अस्पताल नजिक रहेको होटलमा बास बसेका थिए । २२ गते बेलुका दिनेश र अनिता निजहरुको डेरा कोठा पिपलचोकमा आएका थिए । त्यतिबेलै उनीहरुको योजनाअनुसार दिनेशको हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।
लाश सोही कोठामा राखी सो रात दुवैजना बाहिर नै बसेका थिए । २३ गते बिहान दुवैजनाले स्थानिय पसलबाट ४ हजारमा ग्रेण्डर मेसिन र ३ थान जेब्रा झोला र पोलिथिन खरिद गरी ल्याई दुवैजनाले सो लाशलाई ब्यवस्थापन गर्न ग्रेण्डर मेसिन, खुकुरीको सहायताले मृतक लाशको घाँटीमा काटी टाउको र दाहिने तिघ्राको भाग काटी अलग गराई टाउको र तिघ्राको भाग १ वटा झोलामा र शरीरको भाग अर्को झोलामा हाली सोही दिन साँझ ट्याम्पो भाडामा लिई इटहरी, धरान भेडेटारनजिक जंगलमा शव व्यवस्थापन गरेका थिए ।
स्लिपिङ ट्याब्लेट दिएर गलबन्दीले घाँटी थिचेर हत्या गरी ग्रेन्डरको प्रयोग गरी शरीर टुक्राटुक्रा पारेको पाइएको प्रहरीले जनाएको छ । गत फागुन ४ गते सिग्देलको शव धरान–४ स्थितको जंगलका एक किलोमिटरको दूरीमा हात खुट्टा, टाउको र शरीर टुक्राटुक्रा पारिएको अवस्थामा एकसाता अघिमात्र फेला परेको थियो । प्रहरीले गत बुधबार मृतक सिग्देलको दायाँ खुट्टा र टाउको फेला पारेको थियो भने बिहीबार बायाँ हात र शरीर फेला पारेको थियो । प्रहरीले यसबारेमा अनुसन्धानलाई तीब्रता दिएको थियो । त्यही क्रममा हप्तादिन पनि नबित्दै प्रहरीलाई ठूलो सफलता मिलेको हो ।
बरामद भएका सामान
विराटनगर ४ नोबेल अस्पतालको नहर किनाराबाट ग्रेण्डर मेसिन थान १, वारदातमा प्रयोग भएको गलबन्दी थान १ (कान्छी श्रीमतिको कोठा बाट) कान्छी श्रीमतीको कोठाबाट रगत जस्तो लागेको सर्ट थान १ र रुम फ्रेसर थान १, मृतकका कागजात र ब्याग लगायत जलाएको खुलेकोमा डेराकोठा पछाडि जमीनमा रहेको खरानी धूलो ।








