धरानः डायनामिक युथ क्लब, बीपी प्रतिष्ठानको आयोजनामा सम्पन्न दोस्रो अशोक स्मृति बास्केटबलको चौथो दिनको खेलमा ब्रदर्स, हाम्रो कलेक्सन, यलम्वर र तरहरा बास्केटवल टिम विजयी भएका छन् ।
बुधबार भएको खेलमा ब्रदर्सले बिर्तामोडलाई ७२–४६, हाम्रो कलेक्सनलले होराइजनलाई ५६–४०, यलम्बरल युवा जागृतिलाई ५२–३० अङ्कले पराजित गरेको थियो । तरहरा र मिराकलले भने निर्धारित समयमा ५२–५२ बराबर अङ्क जोडेपछि थप गरिएको ५ मिनेटको समयमा दुई क्वाटरमा ७२–६९ अङ्क अन्तरले तरहरा विजयी भएको थियो ।
चौथो दिनको पहिलो खेलमा ब्रदर्स र बिर्तामोडले प्रत्येक क्वाटरमा २३–८, १९–१०, १६–१७ र १४–११ , दोस्रो हाम्रो कलेक्सनले होराइजनलाई १६–९, ५–७, २१–६ र १४–१८ अङ्क जोडेका थिए । त्यस्तै, तेस्रो खेलमा यलम्बर युवा जागृतिले १२–८, १७–१३, १२–५ र ११–१० जोडेको थियो ।
चौथो खेलमा भने हाम्रो कलेक्सन र यलम्बरले १२–२, १८–११, १२–६ र १५–११ अङ्क र तरहरा र मिराकलले १२–१२, ११–१४, १९–२०, १०–६ थप समयमा १०–१० र १०–७ अङ्क जोडेका थिए । पहिलो खेलमा बिर्तामोडका जेनिस सिंहले २७, हाम्रो कलेक्सनका हेमन्त राईले २६, तेस्रो खेलमा यलम्बरको दिवस राईले १९ र चौथो खेलमा तरहराका सन्दीप श्रेष्ठले २२ अङ्क व्यक्तिगत जोडेका थिए ।
लिगकम नकआउटमा सम्पन्न हुने प्रतियोगिताको पाँचौं दिन बिहीबार बेलबारी र तरहरा, आयोजक डायनामिक र यलम्बरबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, सोही साँझ मिराकल र बिर्तामोड र हाम्रो कलेक्सन र यलम्बरले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्राविधिक सहयोग धरान र सुनसरी बास्केटवल सङ्घको रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेल बीपी प्रतिष्ठानको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।