धरानः धरान-१६ स्थित पञ्चायत आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिहीबार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
धरान-१५ निवासी (हाल यु.के.) सरस्वती लिम्बू र सरस्वतिकी छोरी एलिना इमिहाङ मादेनको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको हो ।
सरस्वतीकी भदैनी धरान-१५ निवासी समाजसेवी सुस्मिता सम्योक इमिहाङ लिम्बूले करिब १० हजार रुपैयाँ बराबरको ४० बन्डल मास्क र ३० थान सेनिटाइजर विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईलाई हस्तान्तरण गरिन् ।
द मादेन्स युटुब च्यानलमार्फत् युकेमा रहेर विभिन्न भ्लग निर्माण गर्दै आएकी भ्लगर एलिना इमिहाङ मादेन र युकेकै व्यवसायसम्बन्धी जानकारी दिँदै आएको जुनकिरी नामक बेवसाइटका साथै समाजसेवी सरस्वती लिम्बूले संयुक्त रुपमा रकम सङ्कलन गरी नेपालमा कोराना संक्रमितहरुका लागि सहयोग गर्ने क्रममा दोश्रो चरणको मास्क सेनिटाइजर वितरण गर्ने क्रममा पञ्चायत आधारभूत विद्यालयमा वितरण गरिएको जीवन बिष्टले जानकारी दिए ।
कोरोना महामारिको समयमा बालबालिकाहरु जोखिममा हुने भएकोले केही हदसम्म न्युनीकरण गर्न सहज होस् भन्ने उद्देस्यले स्वास्थ्य सामग्री वितरण गरिएको समाजसेवी लिम्बूले बताइन् । महामारिको बेला विद्यार्थीहरु जोखिममा हुने भएकोले स्वास्थ्य सामग्रीले विद्यार्थीहरुलाई पठनपाठनमा थप सहज हुने प्रधानाध्यापक भट्टराईले बताए ।
सञ्चारकर्मी विष्टले धरान जस्तो सहरमा यस्तो सुविधाविहीन विद्यालय हुनु आश्चर्यजनक भएको बताउँदै सरकारी तवरबाट ध्यान दिनु आवश्यक रहेको बताए । यस विद्यालयमा अधिकांश सुकुम्बासी र विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्दछन् ।
आमाबुबा बिहान बेलुका हात मुख जोड्नको लागि दिनभरी ज्याला मजदुरी गर्न जाने हुनाले छोराछोरीहरु नियमितरुपमा विद्यालय आउन नसकेको प्रधानाध्यापक भट्टराई बताउँछन् । उनले भने, ‘आमाबुबाहरु काममा जान्छन्, केटाकेटीहरुलाई रेखदेख राम्रो हुँदैन, कहिले भोकै आउँछन् ।’ छोराछोरीलाई खाना खुवाई पोशाक लगाएर समयमा नियमित विद्यालय पठाउने वातावरण नबनेसम्म पठनपाठन राम्ररी अगाडि बढ्न सक्ने देखिँदैन ।
