धरानः पूर्वका दुईजना युवा काठमाडौंदेखि दौडिने तयारीमा लागेका छन् ।
धरानस्थित नेपाल पत्रकार महासङ्घमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले काठमाडौंदेखि धनकुटा र दमकसम्म दौडिने तयारी गरेको बताए । यही फागुन ३० गते उनीहरु दौडिने तयारीमा रहेको बताएका छन् । धनकुटा नगरपालिका–७ का धावक देविन्द्र खेवा लिम्बू (डेविड) र झापा दमक–८ का मेघराज राई दौडिने तयारीमा रहेका हुन् । धनकुटाका देविन्द्र धनकुटासम्म र दमकका मेघराज दमकसम्म दौडिनेछन् ।
फागुन ३० गते दशरथ रङ्गशालादेखि दौडिएर उनीहरु धनकुटा र दमक आइपुग्न लागेका हुन् । नारा नै छ– स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि खेलकुद । युवाहरुमा खेलकुदप्रति उत्साह, जोश–जाँगर पलाओस्, अझै अगाडि बढुन् साथै दौडिँदा स्वास्थ्यलाई फाइदा हुन्छ है भन्ने सन्देश छर्ने उद्देश्यले आफूहरु दौडिन लागेको लिम्बूले जानकारी दिए ।
पहिलोदिन ६० किलोमिटर र अन्यदिन दैनिक १०० किलोमिटर दौडिने उनीहरुको लक्ष्य छ । ‘पहिलोदिन ६० र अन्यदिन १०० किलोमिटर दौडिएर तोकिएको स्थानमा आइपुग्ने लक्ष्य राखिएको छ’, मेघराजले भने ।
लिम्बूले काठमाडौंको दशरथ रङ्गशाला, कोटेश्वर, सिन्धुलीको बाटो हुँदै बर्दिबास, कोशी ब्यारेज, इटहरी र त्यहाँ आइपुगेपछि धनकुटा र दमकसम्मको रुट तय भएको जानकारी दिए ।
लिम्बूलाई दौडिनका लागि युवा साम्यो महासंघ युके समिति, नेपाली समाज बहराइन, जिल्ला खेलकुद धनकुटा, एथ्लेटिक्स खेलकुद धनकुटा, नेत्रविक्रम नेम्वाङ आदिले सहयोग गरेको जनता समाजवादीका नेता समेत रहेका सुमन चेम्जोङले जानकारी दिए । यस्तै, मेघराजको लागि एड्भेञ्चर इक्युमेण्ट दमकले सबै व्यवस्थापन गर्ने उनले जानकारी दिए । समाजवादीकै नेता जेन्टल लावतीले तीनवटा मोटरसाइकल, दुईवडा गाडीले उनीहरुलाई सुरक्षा प्रदान गर्दै ल्याउने जानकारी दिए ।
डेबिडले २०७६ फागुन १७ गते धनकुटादेखि धरानसम्म ५५ किलोमिटर दौडिएर ऐतिहासिक रेकर्ड कायम गरेका छन् । पूर्व नेपाल प्रहरी समेत रहेका उनले देश विदेशमा छोटो दुरीका म्याराथुनमा भाग लिइसकेका छन् । यस्तै, मेघराज २०१७ मा धरान–भेडेटार रन, बिर्तामोड, विराटनगर रनमा सहभागी भएर पहिलो भइसकेका छन् ।
काठमाडौंदेखि दमकसम्म ४८० किलोमिटर छ ।

