धरानः धरानमा आगलागीको घटना बढ्न थालेको छ ।
यसैबीच धरान-१६ मा आगलागी भएको छ । धरान-१६ गणतन्त्रचोकमा आगलागी भएको हो । आगलागीमा घरधनी सागर र शुक्रमाया तामाङको घर जलेर नष्ट भएको छ । टिनको छाना भएको घरमा आगलागी भएको हो ।
धरान उपमहानगरपालिकाको दुईवटा दमकलले आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका हवल्दार गिरीराज खतिवडाका अनुसार भाडावर्तनलगायत सबै सामान जलेर नष्ट हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
घरमा कोही नभएको अवस्थामा आगलागी भएको जनाइएको छ । घरबाट केही पनि निकाल्न नपाएको तामाङले जानकारी दिएका छन् । ‘म र परिवार नै घरबाहिर थियौं, घरमा आगलागी भएको खबर पायौं’, उनले भने, ‘घरबाट केही सामग्री निकाल्न पाएनौं ।’ उनले भने ।





