Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पानीको नआएको भन्दै पोख्न थालियो आक्रोश

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०७८, शुक्रबार
धरानमा पानीको नआएको भन्दै पोख्न थालियो आक्रोश

धरानः धरान-१५ का माओवादी केन्द्रका नेता समेत रहेका अइन्द्रविक्रम बेघाले फेसबुकमा पोष्ट्याए–१२ दिन भयो हाम्रोमा पानी नआएको ? तपाईंहरुको तिर नि ?
धरान-१२ की मञ्जु शाक्य लेख्छिन्– स्थानीयस्तरको चुनावमा उठ्ने उम्मेद्वारले धरानमा खानेपानीको समस्या समाधान गर्छु भनेर भुलेर पनि भाषण नछाट्नु यो भाषण धेरै पुरानो भइसक्यो तर अहिलेसम्म समस्या ज्युँकात्युँ छ ।
धरान-१५ का सुवास खवासले पनि पोष्ट्याएका छन्- हाम्रो टोलमा खानेपानीको हाहाकार भएको हप्तादिन भयो । अरुतिर के छ अवस्था ?
धरानकी संगीता मग्राती लेख्छिन्- एडिबीले हामीलाई किन जिस्काएको ?? हिजो ३० मिनेट पानी दियो, आज पनि रुग्दारुग्दा आएन ।
यो समस्या अधिकांश धरानेको हो । एक अर्ब ७७ करोडको खानेपानी आयोजना सम्पन्न भइसक्दा पनि धरानमा खानेपानीको अभाव कायमै छ । एक स्कुल सञ्चालक भन्छन्- पानी अभाव भइसक्यो, विद्यार्थी नियमित आउँछन्, पानी नभए खान र शौचालय जान समस्या हुन थालेपछि ट्याङ्करको पानी किनेर पनि चलाउनुपरेको छ ।
धरान उपमहानगरपालिकाले माघ ५ गते एक सूचना नै निकाल्यो । सूचनामा थियो– धरान खानेपानी व्यवस्थापन बोर्डले एक दिन बिराएर मात्र पानी वितरण शुरु गर्छ ।
खासमा माघ ७ गतेदेखि बोर्डले धरानमा दिन बिराएर पानी वितरण गर्न थालेको थियो । बोर्डका अनुसार नयाँ संरचनाहरुको परीक्षण गर्न टेष्टिङ एण्ड कमिसनिङको काम भइरहेको कारण एकदिन बिराएर खानेपानी वितरण गरिएको जनाइएको छ । टेष्टिङ र कमिसनिङको काम सकिएपछि नियमितरुपमा नै खानेपानी वितरण हुने भनिएपनि महिना बढी बितिसक्दा पनि खानेपानीको अभाव कायमै छ ।

धरानको खानेपानी समस्या हल गर्ने उद्देश्यले एसियाली विकास बैंक (एडिबी) को ऋण तथा अनुदान सहयोगमा आयोजना सञ्चालनमा आएको थियो । आयोजनाको म्याद सकिए पनि पूर्णक्षमतामा पानी वितरण हुन सकेको छैन ।
आजभोलि धरानका धारामा पानी आउन छोडेको धरान–१६ की गृहिणी सविना दाहालले बताइन् । धरान–१६ मा दिन बिराएर पानी आउने भनेपनि चारमा पनि पानी नआएको उनले बताइन् । ‘नेताले भनेजस्तो काम नगरिदिँदा अहिले पनि धरानमा खानेपानी आउन सकेको छैन’, उनले भनिन्, ‘चारदिन भइसक्यो पानी आउने अत्तोपत्तो छैन ।’
जनप्रतिनिधि आएको यतिका वर्ष बित्न लाग्दा समेत खानेपानी नआउनु दुःखद् भएको उनले बताइन् । ‘पानी आउला भनी पर्खी बसें, थोपो पानी चुँदैन’, उनले भनिन्, ‘बिहानभरी धारा रूँगेर बस्यो नआएपछि फेरि बेलुका पनि यसरी नै बस्यो । समय नै यसरी बितिरहेको छ ।’ धरानका १२, १६, ११, १५, ९, १०, १३, १८ लगायतका वडाहरुमा पानी नआएको गुनासो आउन थालेको छ ।
आयोजना असफल भएको आरोप पनि लाग्दै आएको छ । आयोजनाले भने लक्ष्यअनुसार नै पानी उत्पादन भइरहेको तर खानेपानी संस्थानको अवरोध र पुरानो संरचनाको कारण वितरणमा समस्या देखिएको जनाउँदै आएको छ । संस्थानको सम्पत्ति तथा दायित्व पनि अब बोर्डमा हस्तान्तरण भइसकेकोले पानी वितरणको जिम्मा बोर्डको रहेको छ ।
कार्यकारी निर्देशन राजु पोख्रेलले फुस्रे सिस्टम सञ्चालन गर्न बाँकी रहेको र सञ्चालन गर्नुअघि टेष्ट गर्नुपर्ने भएकोले अहिलेको स्थिति आएको बताए । उनका अनुसार सबै सिस्टमको टेष्टिङ सकिएको फुस्रे सिस्टम चलाउन बाँकी रहेको छ ।
धरानमा वर्षेनी खानेपानीको अभाव भएका कारण धरान उपमहानगरले एशियाली विकास बैंक (एडिबी) को एक अर्ब ७७ करोड ऋण अनुदानमा सन् २०१५ मा खानेपानी आयोजनाको काम शुरु गरेको थियो ।

प्रकाशित मिति: फाल्गुन १३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend