धरानः दोस्रो अशोक स्मृति बास्केटबल प्रतियोगिताको उपाधि हाम्रो कलेक्ससन टिमले चुमेको छ ।
आइतबार भएको फाइनल खेलमा हाम्रो कलेक्सनले ब्रदर्स टिमलाई ५७–४७ अङ्कको अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । विजेता हाम्रो कलेक्सनले उपाधिसँगै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलको डिमाण्डु म्यान अफ द म्याच ब्रदर्सका सर्वोधन राई घोषित भएका थिए । खेलको उत्कृष्ट खेलाडी हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनले फाइनल खेलमा टिमलाई जिताउन व्यक्तिगत २० अङ्क जोडेका थिए । डिमाण्डु म्यान अफ द म्याच सर्वोधनले नगद तीन हजार, ट्रफी, कफि पव एण्ड रेष्टोका ५ सय रुपैयाँ बराबरको फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, उत्कृष्ट खेलाडी हेमन्तले नगद ४ हजार, बास्केटवल जुत्ता, कफि पव एण्ड रेष्टोका ५ सय रुपैयाँ बरावरको फुड भौचर, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष सोनु मण्डल, प्रमुख अतिथि वडा नं १८का वडाध्यक्ष प्रविण राई, विशेष अतिथि दिवङ्गत अशोक वास्फोरकी श्रीमती इन्द्रावती वास्फोर, नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला अध्यक्ष नारायण सुवेदी, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
अत्यन्त्य प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा हाम्रो कलेक्सन र ब्रदर्सले प्रत्येक क्वाटरमा क्रमशः ३–१४, २१–१३, १०–८ र २३–१२ अङ्क जोडेका थिए । होम एण्ड अवेको आधारमा वेस्ट अफ र्थी खेलाइएको सेमिफाइनलमा ब्रदर्सले यलम्वरलाई र हाम्रो कलेक्सनले तरहरालाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।
सोहीदिन बिहान सम्पन्न भएको टु पोइन्ट ओ र्थी पोइन्ट कम्पिटिसनको उपाधि यलम्बर क्लबका दिवस राईले जितेका छन् । उनले एक मिनेटमा ७ वटा र्थी पोइन्ट बास्केट गर्दै उपाधि जितेका हुन् । उनले नगद तीन हजार रुपैयाँ, ट्रफी, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरे ।
फागुन ८ देखि १४ गतेसम्म सम्पन्न प्रतियोगितामा धरान , तरहरा, झापा र बेलबारीका गरी १० टिमले सहभागिता जनाएका थिए । सहभागी टिमहरुमा आयोजक डायनामिक युथ क्लव, ब्रदर्स, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, बेलबारी, तरहरा र झापा रहेको थियो ।
लिगकम नकआउटको आधारमा सम्पन्न भएको प्रतियोगितामा प्राविधिक सहयोग धरान र सुनसरी बास्केटबल सङ्घको रहेको थियो ।