Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको होटलमा महिला मृत भेटिइन्

हाम्रो कोशी आवाज
फाल्गुन १७ २०७८, मंगलबार
धरानको होटलमा महिला मृत भेटिइन्

धरानः धरान-१८ स्थित होटलमा एक महिला मृत भेटिएकी छिन् । अन्दाजी ३०-३५ वर्षीय महिला मृत भेटिएकी हुन् ।
बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मङ्गलबार बिहान एक महिलाको शव फेला परेको छ ।
होटलको एक कोठामा दुईदिनदेखि बसिरहेकी महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले प्रहरीले उनको झोलाबाट स्कुल फि तिरेको बिल, मतदाता परिचयपत्र लगायत फेला पारेको जनाएको छ । डिएसपी कुँवरले महिलाको शव भेटिएको र उनको सनाखत गर्न परिवार तथा आफन्तजनको खोजी भइरहेको बताए । पाँचथरको मिक्लाजुङ-१ ठेगाना खुलेको सुमित्रा तामाङ नामको मतदाता परिचयपत्र फेला परेको छ । ‘मतदाता परिचयपत्रको आधारमा आफन्तजनसँग सम्पर्क गरेका छौं’, उनले भने, ‘उहाँहरु आएपछि थप कुरा खुल्छ ।’
होटल सञ्चालक सुशिल जिमीले दुई दिनदेखि होटलमा नाम टिपाएर महिला र पुरुष होटलमा बसेको जानकारी दिए । कोठामा चुकुल नलगाएको, कोठा खोलिएको अवस्थामा थियो । होटलको कोठा नं. १०९ मा उनीहरु बस्दै आएका थिए । उनीहरु श्रीमान श्रीमतीजस्तै गरेर होटलमा आएको र आराम गर्न भन्दै होटलमा बास बसेको उनले जानकारी दिए ।
होटलका कर्मचारीले सोमबार दुवै जनालाई खाना लगेका थिए । तर, मंगलबार बिहान सँगै बसेका पुरुष होटललाई जानकारी नै नदिइ फरार भएका थिए । होटलमा ती पुरुषले जीवन मगर नाम उल्लेख गरेको पाइएको उनले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तामाङको हत्या भएको देखिएको छ । कर्तव्य गरी हत्या भएको हुन सक्ने आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको डिएसपी कुँवरले जानकारी दिए । महिलाको अनुहार र घाँटीमा चोट लागेको देखिएको छ । पुरुषको पहिचान खुलिसकेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend