धरानः धरान–१८ बुद्धचौकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा पाँचथरको मिक्लाजुङ-१ की ३९ वर्षीया सुमित्रा तामाङ मृत फेला परेकी छिन् ।
उनी मङ्गलबार बिहान होटलमा मृत भेटिएकी थिइन् । आफन्तहरु आइपुगेपछि शवको पहिचान समेत भइसकेको छ । अहिले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले मृतक महिलाको साथबाट नागरिकता पनि फेला परेपछि सोही ठेगानामा खोजी गर्दा उनका छोरा र छोरीबाट पहिचान खुलेको हो ।
महिलाका श्रीमान् भारतीय सेनाका पूर्वगोर्खा सैनिक रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको जनाइएको छ । तामाङ इटहरी उपमहानगरपालिका-५ तुलसा टोलमा विगत ५ वर्षदेखि बसोबास गर्दै आएको उनका आफन्तले बताएका छन् ।

मृतक महिलाको झोलाबाट प्रहरीले स्कुल फि तिरेको बिल, मतदाता परिचयपत्र, नागरिकतालगायतका सामान फेला पारेपछि उनको पहिचान हुन सकेको थियो ।
होटल सञ्चालक सुशिल जिमीले दुई दिनदेखि होटलमा नाम टिपाएर होटलको कोठा नं. १०९ मा महिला र पुरुष बसेको बताए । उनीहरु श्रीमान श्रीमतीजस्तै गरेर होटलमा आएको र आराम गर्न भन्दै होटलमा बास बसेको उनले बताए । सो नम्बरको कोठामा महिलाको शरीरलाई सिरकले ओढाएको अवस्थामा शव फेला परेको उनले जानकारी दिए ।
होटलका कर्मचारीले सोमबार दुवैजनालाई खाना लगेका थिए । तर, मङ्गलबार बिहान सँगै बसेका पुरुष होटललाई जानकारी नै नदिइ फरार भएका थिए । होटलमा ती पुरुषले जीवन मगर नाम उल्लेख गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तामाङको हत्या भएको देखिएको छ । कर्तव्य गरी हत्या भएको हुन सक्ने आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको डिएसपी कुँवरले जानकारी दिए । ती पुरुष र मृतक सुमित्राबीचको सम्बन्ध खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘अहिले पनि अनुसन्धान नै भइरहेको छ’, उनले भने, ‘चोटपटकको कारणले हत्याको आशंका नै गरिएको हो ।’
महिलाको दुवै आँखाको डिल साथै अन्य भागमा पनि केही चोट देखिएको प्रहरीले जनाएको छ । पुरुषको पहिचान खुलिसकेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कोरोनाको खोप लगाएर आउँछु भनेकी महिला फर्किनन्
मृतकको एकजना १८ वर्षका छोरा र १३ वर्षीया छोरी छन् । उनीहरुलाई पढाउन भनी मृतक सुमित्राले इटहरीमा डेरा लिएर बसेकी थिइन् ।
मृतकको आफन्त अनिता तामाङका अनुसार त्यो दिन अर्थात् गत आइतबार मृतक सुमित्रा छोरीसहित इटहरीस्थित स्कुलमा छोराछोरीको स्कुल फि तिर्न भनी घरबाट हिँडेकी थिइन् । त्यसपछि उनी इटहरी चोकमा आएर छोरीलाई घर पठाइन् । छोरीका अनुसार मृतक सुमित्राले आफू ‘कोरोनाको खोप खोजेर भएपनि लगाएर आउँछु, तिमी घर जाँदै गर’ भन्दै घर पठाएकी थिइन् ।
आफन्तका अनुसार साँझसम्म पनि घर नफिरेपछि फेरि छोरीले फोन गर्छिन् । उनले त्यतिबेला ‘मेरो सानो काम परयो, म आज आउन सक्दिनँ’ भनेर छोरीलाई भनेकी थिइन् । छोरीका अनुसार यसअघि पनि उनी साथीको घरतिर पुग्ने हुनाले वास्ता गरिएन ।
आफन्तका अनुसार उनी करिब दुई लाख रकम समेत बैंकबाट झिकेर हिँडेकी थिइन् । सोही रकमले केही स्कुल फि पनि तिरेकी थिइन् ।

अवैध सम्बन्ध, पैसाको लोभ र रिसइवीका कारण हत्याको आशंका
मृतक सुमित्रा गत आइतबारदेखि धनकुटाका एक पुरुषसँग होटलमा बसेकी थिइन् । सुमित्राले परपुरुषसँग अवैध सम्बन्धमा रहेको जनाइएको छ । ती पुरुषसँगको अवैध सम्बन्धको विवादले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै, प्रहरीका अनुसार ती महिलाले केही बैंकबाट रकम पनि झिकेको र सो रकमको लोभमा पनि हत्याको योजना बुनेको हुनसक्छ । प्रहरीले सबै कोणबाट अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।
यसअघि ती पुरुष र महिलाको हिमचिम बढेको बारे आफन्त पनि जानकार थिए । ती आफन्तका अनुसार महिला र पुरुषबीच यसअघि पनि झगडा समेत भएको थियो । झगडा भएपछि उनलाई ती महिलाले प्रहरीसम्म पुरयाएकी थिइन् । केही सहमतिपछि ती पुरुषलाई छुटकारा समेत मिलेको आफन्तको भनाइ छ । ती आफन्तका अनुसार अवैध यौनसम्बन्ध, पैसाको लोभ र रिसइवीका कारण हत्या भएको हुनसक्छ ।

