धरानः धरान-इटहरी सडक खण्डमा पर्ने सेउती खोला छेऊमा बस र स्कुटी जुध्दा चारजना घाइते भएका छन् ।
घाइतेमध्ये स्कुटी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धरानबाट इटहरीतर्फ जाँदै गरेको यात्रुबाहक बस र स्कुटी जुधेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी धरानका अनुसार ना५ख ६५४६ नम्बरको यात्रुबाहक बस र इटहरीबाट धरानतर्फ आउँदै गरेको को३६प १०२७ नम्बरको स्कुटी जुध्दा स्कुटी चालक धरान-१३ बस्ने वर्ष ५६ को नहकुल शर्मा गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय सुनसरी धरानका इनिस्पेक्टर भुवनबाबु खड्काले जानकारी दिए ।
दुर्घटनामा बस पल्टिएको थियो । बस पल्टिँदा मोरङको सुन्दरहरैंचा नगरपालिका-११ बस्ने वर्ष १६ का सन्दीप चौधरी, वर्ष २० की मञ्जु लम्साल र २५ वर्षीय सङ्गीता भुजेल घाइते भएका छन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये स्कुटी चालक बोल्न समेत नसक्ने अवस्थामा छन् भने अन्य घाइतेहरु उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । बस चालक विराटनगर महानगरपालिका-१ बस्ने ४९ वर्षीय चक्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।