धरानः ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग राख्दै धरानका क्याम्पसमा तालाबन्दी भएको छ ।
त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएपछि धरानका क्याम्पसमा पनि ताला लागेको हो । धरानमा आंगिक क्याम्पसहरुमा तालाबन्दी भएको हो ।
यसैबीच धरान–१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा पनि तालाबन्दी भएको छ । क्याम्पस प्रमुखको कार्यालय, प्रशासन र लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी भएको हो । उनीहरुले क्याम्पस प्रमुखमार्फत् सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् ।
तालाबन्दीको अवधिमा आंशिक प्राध्यापकले सम्पूर्ण गतिविधिहरु बहिष्कार गर्ने निर्णय भएको सङ्घका अध्यक्ष विक्रम राईले जानकारी दिए । ‘तालाबन्दीसहितको आन्दोलन कायम रहँदासम्म आंशिक प्राध्यापकहरुले सम्पूर्ण शैक्षिक गतिविधि समेत बहिष्कार गर्ने निर्णय भएको छ’, उनले भने ।
समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल आंशिक प्राध्यापक सङ्घ केन्द्रीय सङ्घर्ष समितिको आह्वानमा त्रिवि तथा देशभरका आङ्गीक क्याम्पसमा ताला लागेको छ । विश्व विद्यालय जस्तो प्राज्ञिक, वौद्धिक थलोमा अन्याय, विभेद, बौद्धिक श्रम शोषण भइरहेको उनीहरुको गुनासो छ ।
वर्षमा २ सय ४० दिन काम गर्दा पनि ज्यालादारीमै राखेर आफूहरुलाई विभेद गरिएको गुनासो उनीहरुको छ । सङ्घका इकाई समितिका सचिव धिरेन लिम्बूले क्याम्पसको कक्षा भार थाम्ने प्राध्यापकहरुलाई नै विभेद गरिनु दुःखद् भएको बताए । उनले आंशिकका नाममा त्रिविमा विभेद रहेको बताए । पटक पटक भएका आन्दोलनपछि गरिएको सम्झौता त्रिविले कार्यान्वयन नगरेको आरोप आंशिक प्राध्यापकहरुले लगाएका छन् । ‘हामीले केन्द्रको निर्देशनअनुसार क्याम्पसको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेका हौं, खासमा समान काम गरेपछि समान ज्याला दिन त्रिविले आनाकानी गर्नु हुँदैन’, अध्यापक अर्जुन घिमिरेले भने ।
त्रिविविको लगभग ६५ प्रतिशत कक्षाभार आंशिक प्राध्यापकले धानेपनि दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लान माग गर्दा सुनुवाई हुन नसकेको उनले जानकारी दिए । ‘करार, अस्थायी वा स्थायी प्राध्यापकहरुले हप्तामा १५ घण्टी मात्रै पढाउने हो । उनीहरु विदामा बस्दा, पीएचडी गर्न जाँदा होस् वा परीक्षा गराउँदा हामीले नै क्याम्पस सम्हाल्नुपर्छ’ इकाई अध्यक्ष राईले थपे, ‘तर पनि समान ज्याला कहिल्यै पाएनौं ।’ धरानको हात्तिसारमा मात्रै १४ जना आंशिक प्राध्यापकहरु रहेको उनले जानकारी दिए । तस्वीरहरुः हाम्रो कोशी आवाज



