Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि धरान रन

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७८, शुक्रबार
भोलि धरान रन

धरानः नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगिता १० औं धरान रन नेवाः च्यारिटी १० किमी २०७८ को तयारी पूरा भएको छ ।
भोलि अर्थात् शनिबार हुने प्रतियोगितामा जनचेतनामूलक कार्यक्रमका लागि पहिलोपटक ह्वीलचेयर रेस पनि गराउन लागिएको जनाइएको छ । नेपालमा सबैभन्दा बढी धावकधाविका सहभागी हुने प्रतियोगिता यो नै पहिलो हो, जसमा यसपटक ४ हजार प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् ।
‘शिक्षाका निम्ति च्यारेटी दौड’ भन्ने मूल नाराका साथ प्रतियोगिता हुँदै आएको छ । आयोजक धरान रनले पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको र यसपटक थप आकर्षणका रुपमा नेपालको राष्ट्रिय झण्डा बोकी विश्वभर नेपाललाई चिनाउने झण्डा अभियानकर्ता लक्ष्मीनारायण शिल्पकार, भारतको जल्पाइगुडीका सुन्दर जयसवालले धरान रनमा यसपटक खाली खुट्टा दौड गर्ने धरान रन समूहका अध्यक्ष रोमु राईले जानकारी दिए । यस्तै, कार्यक्रममा नेपालकै पनि चर्चित धावकहरु बैकुण्ठ मानन्धर, मिरा राई पनि सहभागी हुन्छन् ।
धरान रनमा नेपाल, भारत, हङकङ, बेलायत, जर्मन, कतार आदि मुलुकबाट धावकधाविकाहरूको सहभागिता रहेको उनले जानकारी दिए ।
यसैगरी यसपटक पुरस्कार राशि पनि १० हजार वृद्धि गरी खुल्ला समूहमा प्रथम, द्वितीय र तृतीय हुने विजयी धावकधाविकाहरूलाई क्रमशः ६० हजार, ५० हजार र ३० हजार प्रदान गरिनेछ । १२ वर्षदेखि मुनिका प्रथम, द्वितीय र तृतीय हुने धावक धाविकालाई पुरस्कार राशि क्रशः ७ हजार, ५ हजार र ३ हजार दिइने छ भने १२ देखि १६ वर्षभित्रका प्रथम, द्वितीय र तृतीय हुने धावकधाविकालाई जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइने आयोजकले जनाएको छ ।
४० वर्ष माथि भेट्रोन दौडमा प्रथम, द्वितीय र तृतीय हुने विजयी धावकधाविकालाई जनही क्रमशः ७ हजार, ५ हजार, ३ हजार रुपैयाँ दिइने जनाइएको छ । साथै ६० वर्ष माथिको धावक धाविकालाई पनि आकर्षक पुरस्कार दिइनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकधाविकाहरुको सहभागी हुने यस च्यारेटी प्रतियोगिताबाट सङ्कलित रकम अपाङ्ग असहाय महिला बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष खडा गरी सहयोग गर्दै आएको छ ।
यसपटकको रन लोकतान्त्रिक चौतारी भानु चौकबाट बिहान ठीक ७ बजेदेखि शुरु भई पुतलीलाइन, दुर्गाचोक, बुद्धचौक, रत्नचोक, मङ्गलबारे, कल्याणचौक, पानीट्याङ्की, गणेशमानचौक, रङ्गशाला हुँदै जिरो प्वाइन्ट, अमरहाट, रेडक्रस भवन हुँदै हात्तीसार, विजयपुरचौक, पिण्डेश्वर मन्दिर, चिनियाँचौक, पुरानो बजार, देशीलाइन हुँदै पुन भानुचौकमा पुगेर समापन हुनेछ ।

प्रकाशित मिति: फाल्गुन २० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend