धरानः धरानमा सबैभन्दा पहिले बीए पास गरेर ‘बीए कृष्ण’ नामबाट चिनिएका कृष्णप्रसाद श्रेष्ठको निजी पुस्तकालयका १२ सय ४४ थान पुस्तक धरान उपमहानगरपालिकाको सार्वजनिक पुस्तकालयलाई प्रदान गरिएको छ ।
श्रेष्ठको ८६ वर्षको उमेरमा गतवर्ष २०७७ मङ्सीर १४ गते निधन भएको थियो । स्व. श्रेष्ठका वयोबृद्ध श्रीमती राधिका श्रेष्ठसहित परिवारका सदस्यहरुको उपस्थितिमा शुक्रबार धरान उपमहानगरपालिका कार्यालयमा मेयर तिलक राईलाई पुस्तकहरुको नामावली सूची हस्तान्तरण गरिएको छ । परिवारको संयुक्त निर्णयसहितको विवरण ग्रहण गर्दै मेयर राईले श्रेष्ठको निजी पुस्तकालयलाई सार्वजनिक पुस्तकालयमा तस्वीरसहित छुट्टै व्यवस्थापन गरिने बचन दिए ।
उनले भने, ‘धरानको इतिहासमा कृष्ण दाईको जीवन सबै कुरामा गाँसिएको छ, राजनीति, साहित्य, शिक्षा र सामाजिक क्षेत्रका कुनैपनि प्रसङ्गमा धरानबासीले उहाँको नाम लिने गर्दछन् ।’ बीएकृष्ण नाम आफूले युवाकालमा सुन्दा किन बीएकृष्ण भनिएको होलमा भनी उत्सुकता लागेको कुरा मेयर राईले सम्झिए । नामैले पनि युवाहरुमा शिक्षाप्रतिको लगनशीलता बढ्ने गरेको अनुभव सुनाउँदै मेयर राईले भने ‘कृष्ण दाइको निजी पुस्तकालय उपमहानगरपालिकाको पुस्तकालयमा छ भन्ने कुराले पनि अलग्गै महत्व राख्दछ ।’
श्रेष्ठका भाई शिक्षासेवी चन्द्रप्रसाद श्रेष्ठले दाजु कृष्णप्रसाद श्रेष्ठले धरान नगरपालिकाको कार्यवाहक सभापति रहँदा निःशुल्क प्राथमिक शिक्षाको नीति लागू गरेको गरेको स्मरण गराउँदै भने ‘त्यही नीतिलाई अनुसरण गरेर नगर पञ्चायतले निःशुल्क प्राथमिक शिक्षाका लागि वडा वडामा पञ्चायत प्राथमिक पाठशाला स्थापना गरेको हो ।’ धरानमा वामपन्थीको सङ्गठन गर्ने पहिलो व्यक्ति श्रेष्ठनै भएको उनले बताए । उनले भने, ‘चालिस सालको दशकसम्म उनि नेपालको कम्युनिष्टहरुका केन्द्रीय राजनीतिमा सक्रिय थिए ।’
स्व. श्रेष्ठ २०१७ सालमा धरान कानुनीरुपमा नगरपालिका घोषित हुँदा भएको पहिलो स्थानीय चुनावमा वडा कमिस्नर निर्वाचित भएका थिए । त्यस बेला नगरपालिका प्रमुखलाई सभापति भनिन्थ्यो । वडा कमिस्नरहरुबाट निर्वाचित सभापति केदारनाथ खनाल थिए । श्रेष्ठ २०१७ माघ १२ देखि २०१८ फागुन ३ गते सम्म धरान नगरपालिकाको कार्यवाहक सभापति रहेका थिए ।
पछिल्लो समय धरानको राजनीति, साहित्यका नयाँ पुस्ताका लागि श्रेष्ठ ‘इनसाइक्लोपेडिया’ थिए । राजनीति, साहित्य, इतिहास र संस्कृतिका उनी अध्येता थिए । उनको निजी पुस्तकालयमा सम्बन्धित विषयका किताबहरुको सङ्कलन छ । किताबको सौखिन उनी कुनैपनि चर्चित पुस्तक मगाएर, किनेर पढ्नेमा पहिलो व्यक्ति हुन्थे । कसैले कुनै किताबको खोजी गरे सबैले ‘बीएकृष्ण दाइ’ लाई देखाउने गर्दथे ।
उनीकहाँ पुस्तक खोज्दै पुगेकाहरुलाई उनको शर्त हुन्थ्यो ‘यहीँ बसेर पढ्न पाइन्छ, घर लैजान भने पाइन्नँ ।’ धरानमै उपलव्ध भएपनि उनलाई भेट्न त्यति सहज थिएन् । उनलाई अगाडिबाट भेट्न आउने जानकारी नदिएकाहरुलाई श्रेष्ठ हतपत भेट दिँदैन थिए । राजनीति, साहित्य र भाषा संस्कृतिका विषयमा उनीसँग छलफल गर्न, अनुभव अनुमान सुन्न धेरै जना लालियत हुन्थे । उनि जीवनकालमै मिथक बनेको कौतुहलमय व्यक्तित्व थिए ।
पुस्तकालय हस्तान्तरणका अवसरमा छोरा शम्भु श्रेष्ठले भने, ‘जीवनकालमै उहाँले आफ्नो शेषपछि पुस्तकहरु चलिरहेको पुस्तकालयलाई प्रदान गर्ने इच्छा जनाउनुभएको थियो ।’ सोहीअनुसार पारिवारिक बैठकले पुस्तकहरु धरानमा उपमहानगरपालिकाले सञ्चालन गर्दै आएका पुस्तकालयका लागि जिम्मा लगाउने निर्णय गरेको हो । अब कृष्णदाईसँग भएका किताबहरु पढ्न चाहनेहरुलाई सहज भएको छ । उनका महत्वपूर्ण पुस्तकहरु पुस्तकालयबाट गायब हुने सम्भावनाप्रति उपमहानगरपालिका गम्भीर हुनुपर्ने आवश्यकता छ ।
हस्तान्तरण गरिएका पुस्तकहरु अङ्ग्रेजी, नेपाली, हिन्दी र नेवारी भाषाका छन् । त्यसमध्ये अङ्ग्रेजी भाषाका ४६८, नेपाली भाषाका ७७६ पुस्तकहरु रहेको बताइएको छ । सो पुस्तकहरु श्रेष्ठले राजनीतिमा सक्रिय हुँदाको जीवनकालमा गरेको विदेश भ्रमणका बेला सङ्कलन गरेका हुन् । पछिल्लो समय विदेश तथा नेपालमा प्रकाशित राजनीति, अथ, साहित्य र संसकृतिका पुस्तकहरु उनिले किनेर सङ्कलन गरेकाहरु छन् ।
कृष्णप्रसाद श्रेष्ठ किताब मात्रमा नभई पत्रपत्रिका, म्यागेजिन नियमित पढ्ने र सङ्कलन गर्ने सौख पनि थियो । समसामयिक घटना, विकासक्रमको विश्लेषणका लागि सुसूचित हुन उनी सधै सजग रहन्थे । यसरी भएको पत्रपत्रिकाको करिब २ हजारको संख्यामा रहको संकलन श्रेष्ठले जीवनकालमै धरानस्थित पिण्डेश्वर विद्यापीठलाई प्रदान गरेका थिए ।
श्रेष्ठका पुस्तकहरु हस्तान्तरणको अवसरमा उनकी श्रीमती राधिका सहित छोराहरु शम्भु श्रेष्ठ, शैलेष श्रेष्ठ, बुहारीहरु छोरीहरु पुष्पा, मञ्जु, अञ्जु श्रेष्ठ उपस्थित थिए । भाइहरु चन्द्रप्रसाद श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ, केदारप्रसाद श्रेष्ठसहित नातेदारहरु पनि सहभागी थिए ।