Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरव्यापी वक्तृत्वकलामा एम्स एकेडेमीकी छात्रा प्रथम

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७८, शुक्रबार
धरान उपमहानगरव्यापी वक्तृत्वकलामा एम्स एकेडेमीकी छात्रा प्रथम

धरानः धरान उपमहानगरव्यापी अन्तर माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा एम्स एकेडेमीकी छात्रा उषा कार्की प्रथम भएकी छिन् ।
समाजको हलमा सम्पन्न प्रतियोगितामा शारदा बालिका नमूना माविका छात्रा तुलसा राई द्वितीय, युएन, नवोदय कलेजका दीपेन भण्डारी तृतीय भए भने शारदा बालिकाकै रेजिना विश्वकर्माले सान्त्वना स्थान हात पारिन् ।
धरान–१३ स्थित अमर सेवा समाजले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई कार्यक्रमका सभाध्यक्ष एवम् अमर सेवा समाजका अध्यक्ष भूमिराज लिम्बू, कार्यक्रमका विशेष अतिथि धरान–१३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्ले लगायतले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार र प्रमाण–पत्र वितरण गरे ।
‘समाजप्रति युवा विद्यार्थीको दायित्व’ शीर्षकमा गरिएको प्रतियोगिताको निर्णायकहरुमा वरिष्ठ साहित्यकार बम देवान, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र नेपाल पत्रकार महासङ्घ सुनसरीका सहसचिव तिर्थ कार्की रहेका थिए ।
विद्यार्थीहरुको ब्यक्तित्व र नेतृत्व विकास गर्दै उनीहरुलाई समाजप्रति उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको समाजका अध्यक्ष लिम्बूले बताए । धरान उपमहानगरभरिका विभिन्न विद्यालयका २२ जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएको समाजका सचिव गोपाल श्रेष्ठ ‘प्रयास’ ले जानकारी दिए ।
प्राध्यापक डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर १३ का महिला वडा सदस्य कमला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: फाल्गुन २० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend