Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको चन्द्र संस्कृत माविको दुईवटा भवन बन्यो

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७८, शनिबार
धरानको चन्द्र संस्कृत माविको दुईवटा भवन बन्यो

धरानः धरान–१६ स्थित चन्द्र संस्कृत माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सवको अवसरमा दुईवटा नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
शुक्रबार नवनिर्मित भवनको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. आनन्दप्रसाद आचार्यले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राईले धरानलाई शैक्षिक हबको रुपमा विकास गर्न स्थानीय सरकारले नारा लिएको बताए ।
मेयर राईले शिक्षा क्षेत्रमा धरानका अग्रजहरुले अत्यन्तै ठूलो योगदान, लगानी र मेहनत गरेको बताए । ‘धरानमा सबै विषयवस्तुहरुको अध्ययन अध्यापन हुने गरिरहेको छ, पछिल्लो कालखण्डमा स्वास्थ्य क्षेत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनापछि धेरै विषयहरुमा अध्ययन अध्यापन हुने गर्दछ, संस्कृत क्याम्पसदेखि स्कुलसम्म, महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय खाद्य प्रविधि क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसलगायत थुप्रै विद्यालयहरु धरानमा स्थापना भएको छ,’ मेयर राईले भने । धरानलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने मेयर राईको भनाइ थियो । मेयर राईले चन्द्र संस्कृत विद्यालयमा चन्द्रप्रसाद आचार्यले निर्माण गर्नमा ठूलो योगदान दिएको बताए ।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. आचार्यले संघ, स्थानीय सरकार र विद्यालयको आन्तरिक स्रोत तथा दाताहरुको सहयोगमा दुई वटा विद्यालय भवन निर्माण गरिएको जानकारी दिए । उनले धरान उपमहानगरपालिकाको साढे ६ लाख रुपैयाँको सहयोगमा पुस्तकालय भवन पनि निर्माण गर्न सफल भएको बताए ।
५७ औं वार्षिकोत्सवको अवसरमा पूर्व विद्यार्थी मिलन कार्यक्रम पनि गरिएको थियो । पूर्व विद्यार्थीहरु पनि सहभागी भएका थिए । धरानमा रहेका पूर्व विद्यार्थी नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेल र वडा १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले सरस्वती मन्दिर निर्माण गर्नका लागि आर्थिक सहयोग समेत गर्ने घोषणा गरेका थिए । मन्दिर निर्माणका लागि पोखरेलले ११ हजार १ सय ११ रुपैयाँ र काफ्लेले २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे । यस्तै, कार्यक्रममा निर्माण व्यवसायी पूर्णबहादुर राई, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस प्रमुख काजीराम कार्की र उपप्राध्यापक भीषण भुजेलसहित दाताहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई मेयर तिलक राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति: फाल्गुन २१ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend