धरानः देशभर र विदेशसम्मका खेलाडीहरु सहभागी हुँदै आएको र सर्वाधिक धावकधाविका सहभागी हुँदै आएको धरान रनमा यसपटक अधिकांश खेलाडीले रेकर्ड तोडेका छन् ।
१० औं धरान रन नेवा च्यारिटी १० किमीमा खुल्ला पुरुषतर्फ दुर्गाबहादुर बुढा प्रथम भएका छन् भने महिला खुल्लातर्फ पुष्पा भण्डारी प्रथम भइन् । शनिबार धरानमा आयोजित प्रतियोगितामा १० किलोमिटरको निर्धारित दुरी ३१ मिनेट ३ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फ बुढा बिजेता भएका हुन् । उनी भारतीय सेनामा पनि कार्यरत छन् । यसअघि प्रथम हुने महिला र पुरुषले ३१ मिनेट ७ सेकेण्डमा मात्रै निर्धारित दुरी पार गरेका थिए ।
यस्तै, बाग्लुङका अनिश थापाले ३१ मिनेट ४ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए । उनी पनि भारतीय सेनामा कार्यरत छन् । प्रतियोगितामा काठमाडौंका मुकेश पलले ३१ मिनेट २० सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए ।
महिलातर्फ बिजेता भएकी पुष्पाले ३५ मिनेट २६ सेकेण्डमा दौड पूरा गरिन् । एपिएफकै फूलमती रानाले ३८ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् । बेलायतकी हनाह करासले ४१ मिनेट १४ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् । पुरुष र महिला दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः नगद ६० हजार, ५० हजार र ३० हजार नगदसँगै मेडल र प्रमाणपत्र हात पारे ।
यसैगरी, अण्डर १६ उमेर समूहमा पुरुषतर्फ प्रशान्त तामाङ प्रथम, रोदन राई दोस्रो र सरोज सिंह तेस्रो भए भने महिलातर्फ पेमा तामाङ प्रथम, कुसुम राई दोस्रो र जस्मिता राई तेस्रो भइन् । अण्डर १२ उमेर समूहमा पुरुषतर्फ सविन चेम्जोङ प्रथम, ज्वाला राई दोस्रो र तयाहाङ राई तेस्रो भए भने महिलातर्फ इसिका थापा मगर प्रथम, युमिना राई दोस्रो र अञ्जली राई तेस्रो भइन् ।
यस्तै, सुपर भेट्रानतर्फ धरानका इन्द्रबहादुर लिम्बू प्रथम र दार्जिलिङका पवनदास प्रधान दोस्रो भएका थिए । अण्डर १६, अण्डर १२, भेट्रानलगायत स्पर्धामा प्रथम, दोस्रो र तेस्रो विजेताहरुलाई नगद ७ हजार, ५ हजार र ३ हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।






