धरानः धरान-१८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी सुमित्रा तामाङको हत्यामा संलग्नको आरोपमा एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा पाख्रिबासी–६ फलाँटेका २४ वर्षीय जीवन, राम भनी चिनिने विनेश राना मगर रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनलाई धरानमा महिला मृत भेटिएको पाँचदिनपछि प्रहरीले धरानमा सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनलाई धनकुटा–११ स्थित छथर जोरपार्टीस्थित ससुराली घरबाट पक्राउ गरेर धरान ल्याइएको थियो । उनी ससुराली घरमा आएको भन्दै आफन्तले नै प्रहरी डाकेका थिए ।
गत मङ्गलबार इटहरी बस्दै आएकी पाँचथरको मिक्लाजुङ गाउँपालिका १ की ३९ वर्षीया सुमित्रा मृत भेटिएकी थिइन् । उनी गत आइतबारदेखि हराएकी थिइन् । डिएसपी कुँवरले उनको साथमा नागरिकता, मतदाता परिचयपत्र, स्कुलको फि तिरेको बिललगायत भेटेपछि त्यसकै आधारमा सोधीखोजी गर्दा उनकी छोरीले पहिचान खुलाएको जानकारी दिए ।
उनका श्रीमान् भारतीय सेनाका पूर्व गोर्खा सैनिक रहेको र पेन्सन भइसकेपछि बु्रनाइमा काम गर्न पुगेका थिए । दुईदिनदेखि होटलमा नाम टिपाएर होटलको कोठा नं. १०९ मा बस्दै आएका उनीहरु श्रीमान्–श्रीमतीजस्तै गरेर होटलमा कोठा बुक गराए थिए । आराम गर्न भन्दै उनीहरु आएका उनीहरुले श्रीमान–श्रीमती भनेर भनेपछि कोठा दिएको होटल सञ्चालकले जानकारी दिएका छन् ।
होटलका कर्मचारीले सोमबार दुवैजनालाई खाना लगेका थिए । तर मङ्गलबार बिहान सँगै बसेका पुरुष होटललाई जानकारी नदिई फरार भएका थिए । ती पुरुषले होटलमा जीवन मगर भनेर नाम टिपाएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानले तामाङको हत्या भएको देखिएको जनाएको थियो । मृतक महिलाको दुवै आँखाको डिल, घाँटी, जिउ, हातखुट्टालगायतमा चोटपटक, निलडाम देखिएको थियो । मृतकको एकजना १८ वर्षका छोरा र १३ वर्षीया छोरी छन् । उनीहरुलाई पढाउन भनी मृतक सुमित्राले इटहरीमा डेरा लिएर बसेकी थिइन् ।
मृतकको आफन्त अनिता तामाङका अनुसार त्यो दिन अर्थात् गत आइतबार मृतक सुमित्रा छोरीसहित इटहरीस्थित स्कुलमा छोराछोरीको स्कुल फि तिर्न भनी घरबाट हिँडेकी थिइन् । त्यसपछि उनी इटहरी चोकमा आएर छोरीलाई घर पठाइन् । छोरीका अनुसार मृतक सुमित्राले आफू ‘कोरोनाको खोप खोजेर भएपनि लगाएर आउँछु, तिमी घर जाँदै गर’ भन्दै घर पठाएकी थिइन् ।
आफन्तका अनुसार साँझसम्म पनि घर नफिरेपछि उनलाई छोरीले फोन गर्दा ‘मेरो सानो काम परयो, म आज आउन सक्दिनँ’ भनेर छोरीलाई भनेकी थिइन् । यसअघि पनि मृतक महिला साथीको घरतिर पुग्ने हुनाले उनीहरुले वास्ता गरेनन् । यसअघि ती पुरुष र महिलाबीच हिमचिम हुँदै आएको आफन्तले बताएका छन् । ती आफन्तका अनुसार महिला र पुरुषबीच यसअघि पनि झगडा समेत भएको थियो । झगडा भएपछि उनलाई ती महिलाले प्रहरीसम्म पुरयाएकी थिइन् । केही सहमतिपछि ती पुरुषलाई छुटकारा समेत मिलेको आफन्तको भनाइ छ ।

किन भयो हत्या ?
प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्याको कारण सामान्य रहेको बताउँछ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार ती महिला सो दिन अर्कै पुरुषसँग मोबाइलमा कुराकानी गरिरहेको र त्यही मोबाइलमा बोलेको निहुँमा पटक पटक झगडा हुँदा हत्या भएको देखिन्छ ।
‘गत १५ गते बिहान धरान आई मृतकसँग मोबाइल सम्पर्क गरी भेटघाट भई सो होटलको कोठामा बसेको बेला दुवैले मादक पदार्थ खाएको देखिन्छ’, उनले भने, ‘गत १६ गते बेलुका निज मृतकले अन्य पुरुष मानिससँग मोबाइलमा बोलेको भन्ने विषयमा विवाद हुँदा मृतकलाई लात, मुक्काले कुटपिट गरेको र राति ११ जबेतिर पुनः सोही विषयमा विवाद हुँदा विनेशले दुवै हातले मृतकको घाँटी थिची हत्या गरेको पाइएको छ ।’
प्रहरीका अनुसार त्यसपछि खाटमा सुताई ओढ्ने ओढाइ ब्यागमा रहेको ५ हजार नगद र मृतकको मोबाइल समेत लिई सोही होटलको पछाडितर्फ चाबी नलगाएको अवस्थाको चेनगेट खोली उनी भागेका थिए ।
प्रहरीले हत्यामा अन्य मानिस संलग्न नरहेको जनाएको छ । विगत १ वर्षअघिदेखि मृतकको विनेशसँग चिनजान भई प्रेम सम्बन्ध रहेको र उनीहरुबीच पटकपटक भेटघाटसमेत हुने गरेको प्रहरीले जनाएको छ । मगर डेराकोठा नजिकै भाडामा बस्ने गर्दथे भने सिटी सफारी चालक समेत रहेको पाइएको प्रहरीले जाएको छ । हत्यामा संलग्न युवाको पनि तीनजना छोराछोरी समेत रहेको पाइएको प्रहरीले जनाएको छ । उनीमाथि सात दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।