Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलले विद्यालयस्तरीय बास्केटबल आयोजना गर्ने

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७८, आइतबार
धरानको सियोन स्कुलले विद्यालयस्तरीय बास्केटबल आयोजना गर्ने

धरानः धरान–१६ स्थित सियोन स्कुलको आयोजनामा यही फागुन २४ गते एकदिने सियोन थ्री बाइ थ्री अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ ।
२४ गते पर्न गएको महिला दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको सियोन स्कुलका प्राचार्य सञ्जीव बान्तावाले कफी पव एण्ड रेष्टोमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा धरान र धरान आसपासका महिला र पुरुष टिमले सहभागिता जनाउनेछन् । महिलातर्फ ८ टिम र पुरुषतर्फ १५ टिमले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । सहभागी विद्यालयहरुमा आयोजक सियोनसँगै होलिल्याण्ड, समिट, प्रहरी स्कुल, युएन, डिपो, सगरमाथा, तरहरालगायत रहेको छ । प्रतियोगिताको बिजेता टिमले ट्रफी, कफि पव एण्ड रेष्टोको पाँच सय रुपैयाँ बराबरको फुड भौचर र उपविजेताले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
कोभिड महामारीको कारण दुई वर्षदेखि विद्यार्थीहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव परेको र कुनै अतिरिक्त क्रियाकलापमा सहभागी नपाएको हुनाले बास्केटवल प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष एवं निर्देशक खड्गबहादुर थापा मगरले बताए । यससँगै विद्यालयले विद्यार्थीहरुका लागि अन्य रचनात्मक क्रियाकलापहरुको आयोजना गरी पहिलेकै जस्तो सहज र सरल अवस्था तयार पार्ने उनले बताए ।
प्रतियोगिताको फाइनल खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ भने प्रतियोगिताको अघिल्लो दिन २३ गते सोमबार धरानका पत्रकार टिम र सियोन स्कुलका शिक्षकबीच मैत्रीपूर्ण बास्केटबल खेल हुने आयोजकले जनाएको छ । थ्री पोइन्ट कम्पिटिसनका विजेताले नगद एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन नवीन राई, सियोन स्कुलका खेलकुद संयोजक रोशन राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: फाल्गुन २२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend