Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका रोजन राईको हत्यामा संलग्नलाई १५ वर्षपछि बहराइनबाट नेपाल ल्याइयो

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७८, बुधबार
धरानका रोजन राईको हत्यामा संलग्नलाई १५ वर्षपछि बहराइनबाट नेपाल ल्याइयो

धरानः व्यक्ति हत्याका दुई आरोपीलाई प्रहरीको इन्टरपोल शाखामार्फत कतार र बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ १५ वर्षपछि पक्राउ परेका हुन् । उनी कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
विसं २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजनको उपचारका क्रममा जेठ २ गते मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेका आरोपी गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए ।
उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा ‘रेड नोटिस’ जारी गरिएको थियो ।
उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरी नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने जनाइएको छ ।
यस्तै, इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्रतिवादी सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घटनाको छ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
श्रीमती आरती परियारलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको हो । ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते इन्टरपोल महासचिवालयबाट सुपुर्दगी तथा २०७७ साउन १९ मा ‘रेड नोटिस’ जारी भएको थियो ।
यादवलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको इन्टरपोल शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति: फाल्गुन २५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend