धरानः धरानमा कलाकार, गायक, गीतकार यासेली योङहाङलाई धरानमा सम्मान गरिएको छ ।
मदन पुरस्कार बिजेता इतिहासकार तथा पूर्व प्रशासक भगिराज इङ्नाम प्रमुख आतिथ्यतामा सम्पन्न मास्टर स्व. चक्रबहादुर पालुङ्वाको ८८ औं जन्मजयन्तीका अवसरमा बुधबार उनलाई सम्मान गरिएको हो ।
मास्टर स्व. चक्रबहादुरको जन्मजयन्तिको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा उनलाई सम्मान गरिएको हो । उनलाई नगद २० हजार ५ रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
फाउन्डेशनले गीत-सङ्गीत, अभिनय, नाटक, लिम्बू भाषा, संस्कार, संस्कृति तथा कलाकारिता क्षेत्रमा योगदान पुरयाएको भन्दै उनलाई सम्मान गरिएको फाउण्डेशनका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाले जानकारी दिए । नाटककै विधामै लिम्बू भाषामै बढी जमेका उनको लिम्बु भाषाको ८४ वटा रेडियो नाटक लेखेका छन् भने लिम्बु भाषामै ९ वटा स्टेज नाटक लेखन तथा निर्देशन गरेका छन् ।
उनले सहिदकी आमा, नुमाफुङ, ब्लक लिभ जस्ता ठूलो पर्दाका चलचित्र र लिम्बू फिल्म चेसुङ, केबाकोक्मा, आनिसाक्थिममा भूमिका निभाएका छन् । उनी दुई दर्जन म्युजिक भिडियोमा पनि देखिएका छन् । यासेलीका एकल रचनाका गीति एल्बम मित्तोक (चिनो), मालाजे (मातृभूमि), सेःमाङ (सपना), बलिहाङ मुन्धुम (देउसी कथा), लुङा तरेबे (पाहुनाज्यू), मोसेमी (महाज्योति), खासाम (सभ्यता) लगायत छन् ।
यस्तै, कार्यक्रममा गरिब तथा जेहेन्दार छात्रवृत्ति पनि प्रदान गरिएको थियो । सो छात्रवृत्ति विद्यार्थी रोमन मगरलाई कार्यक्रमका विशेष अतिथि प्रा.डा. टंक न्यौपानेले १३ हजार ५ रुपैयाँ प्रदान गरे । रोमनलाई कक्षा-१२ मा अध्ययनका लागि छात्रवृत्ति दिइएको हो । उनी ल्याबोरेटरी मावि धरान–८ मा अध्ययनरत् छन् । कार्यक्रममा ढाडको समस्या भई उपचारत खोटाङ हलेसी निवासी ७२ वर्षीय गुरुपति भट्टराई स्वास्थ्य उपचारमा सहयोग मिलोस् भनेर नगद ५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी इतिहासकार इङ्नामले स्व. चक्रबहादुरको योगदान तारिफ गर्न योग्य व्यक्तित्व रहेको बताए । उनले यासेलीलाई सम्मान गर्नु उनको योगदानलाई कदर गरेको हो समेत भने । ‘यासेली योङहाङले लिम्बू कला, संस्कृतिको क्षेत्रमा धेरै योगदान गरेका छन् । उनी नभएको भए लिम्बू गीत–सङ्गीतले अहिलेको स्वरुप प्राप्त गर्दैनथ्यो । उनले ठूलो योगदान गरेका छन् । अभिनयसँग उनले गीत–सङ्गीतमा ठूलो योगदान गरेका छन् ।’
कार्यक्रममा फाउण्डेशनका सल्लाहकार प्रा.डा. न्यौपाने, अग्रज पत्रकार हर्ष सुब्बा, सङ्गीत तथा नाट्य प्रतिष्ठान काठमाडौंका प्राज्ञ अशोक लोहोरुङ राई, अध्यापक ओमनाथ रिमाललगायतले पनि बोलेका थिए । उनीहरुले मास्टर स्व. चक्रको योगदानबारे सिक्दै भावी पुस्ता अघि बढ्न सक्नुपर्ने बताए । कार्यक्रममा फाउण्डेशनकी संरक्षक विष्णुमाया पतङ्वा, ससल्लाहकार केपी पालुङ्वा, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक जीवनकुमार राई, कियाचुका सल्लाहकारनरप्रसाद लुङफुङ्वा, याक्थुङ उद्यमी समाजका अध्यक्ष विपीन सुब्बा, कुलबहादुर मेवक, टिकाहाङ तिगेला, कर्णबहादुर हुक्पा चोङवाङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै डा. पालुङ्वाले कोष खडा गरेर फाउन्डेशनलाई बृहत बनाउँदै दिल खोलेर सहयोग गरिरहने बताए । उनले वर्षेनी फाउन्डेशनको नामबाट जन्मजयन्तिकै अवसर पारेर जेहेन्दार, उत्कृष्टलगायतका विद्यार्थीलाई छात्रवृत्ति र पत्रकारितालगायत अन्य विधाका व्यक्तित्वलाई सम्मान गर्दै जाने बताए । कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव पुरुषोतम खतिवडा गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज
















