५ जनाको जीवितै उद्धार
संखुवासभाः संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार बिहीबार बिहान करिब ७ः३० तिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि दमक जाँदै गरेको बा४ख ७३५ नम्बरको रेसम फिलिली नामको बस दुर्घटनामा परेको हो । मृतकहरुको पहिचान भइसकेको छ । पुलुङ गाउँस्थित सातघुम्ती भन्ने स्थानमा बस दुर्घटनामा परेको हो । तीब्र गतिमा बस कुदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संखुवासभा मादी नगरपालिका ६ बस्ने वर्ष नखुलेकी अञ्जना कटवाल, मादी ५ बस्ने वर्ष ४५ को दीपक दाहाल, वर्ष ३८ को इन्द्रबहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ को उमेश भट्टराई (सहचालक), वर्ष ३८ को आइतबहादुर तामाङ, वर्ष ३५ कि सविता राउत कार्की, वर्ष ५० को श्याम शेर्पा, मादी ५ बस्ने वर्ष ५५ को भवानी दाहाल, मादी ६ बस्ने तुलसा कटवालकी छोरी वर्ष ५ कि दीक्षा कटवाल, तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३० को विपीन निरौला (चालक–सवारी धनी) नाम, थर, ठेगाना नखुलेको १ पुरुष, २ महिला, १ बालक गरी ४ जना रहेको प्रहरीले जनाएको छ ।
घाइते पाँचजनालाई चैनपुर अस्पताल लगिएको छ । चैनपुर अस्पतालमा उपचार सम्भव नहुने बिरामीलाई हेलिकोप्टरमार्फत् धरानस्थित बीपी प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपका अनुसार शुरुमा बस पल्टिएपछि बजारिएको थियो । बजारिएकै ठाउँमा ९ जनाको मृत्यु भएको पाइएको उनले जानकारी दिए । त्यसपछि बस पल्टिएर भीरमुनि पुग्दा अन्यको मृत्यु भएको पाइएको उनले जानकारी दिए । घाइतेमध्ये वर्ष ३० की युका पोखरेलको अवस्था गम्भीर रहेको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले जानकारी दिए । ‘उनलाई अक्सिजन दिएर राखिएको अवस्था छ’, उनले भने, ‘अन्यको अवस्था ठीकै छ ।’


