धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ ।
विशेषतः भलिबल प्रतियोगिताअन्तर्गत छात्रछात्रा दुवैले धरानभरीका विद्यार्थीलाई जित्दै सफलता हात पारेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । ‘धरानभरीका विद्यार्थी सहभागिता भएको प्रतियोगितामा हाम्रा विद्यार्थीले भलिबल प्रतियोगितामा सफलता हात पारेका छन्’, उनले भने, ‘योसँगै एथ्लेटिक्स, रिले दौडलगायत विभिन्न खेलमा पनि विद्यार्थीले उपाधि जितेर फर्किएका छन् ।’
शुक्रबार धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा धरान–११ स्थित ज्ञानोदय माविका विद्यार्थीसँग उनीहरुले प्रतिस्पर्धा गरेका थिए ।
उनले पब्लिकले विद्यार्थीहरुका लागि पढाइका साथै अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै आएको बताए । खेलकुदका गतिविधि हुने खेल मैदान आफ्नै भएकाले विद्यार्थीलाई सहज भएको उनले बताए ।

