धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ ।
आइतबार धरान–१० पुतली लाइनस्थित कफी पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दै आयोजकले चैत्र १५ गते देखि १९ गते प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
अध्ययनसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत सँगै अगाडि बढाउनका लागि खेल र खेलाडीको सम्मान गर्दै बास्केटबल प्रतियोगिता आयोजना गर्न लागिएको धरान मेघा हिमालयन कलेजका अध्यक्ष केलाश लिम्बूले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगिताका विजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफी पव एण्ड रेष्टोको फुड भौचर, ट्रफी र प्रमाणपत्र प्रादान गरिनेछ । उत्कृष्ट स्कोरर र उदयीमान खेलाडीले ट्रफ्री, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता धरान बास्केटवल संघको संयोजन, सुनसरी बास्केटबल संघ र धरान १२ नम्बर वडाको सहयोगमा धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा सम्पन्न हुन लागेको हो । प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र तथा जिल्लाका करिब १२ टिमले सहभागिता जनाउने आयोजक धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।
सहभागी टिममा १९ वर्षमुुनिका ११ र १२ कक्षाका ६ जना र १० कक्षासम्मका ६ जना खेलाडी हुनपर्नेछ । १० कक्षासम्मका हकमा भने १२ जना खेलाडी नै सहभागिता जनाउन सक्नेछ । दिवङ्गत उदयमान खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । बास्केटबल खेलमा सम्भावना बोकेका उदयमान खेलाडी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । १० कक्षामा अध्ययन गरिरहेको रेवाहाङ राईको असामयिक निधनपछि उनको सम्मानमा अभिभावक, धरान मेघा हिमालयन र धरान बास्केटवल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले बताए ।
प्रतियोगिता आयोजनाका लागि रेवाहाङका अभिभावकले दुईलाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिसकेको छ । यसबाट आएको ब्याज रकम, आयोजक धरान मेघा कलेज र धरान बास्केटबल संघको व्यवस्थापनबाट प्रतियोगिता आयोजना हुनेछ ।

प्रतियोगिताको फाइनखेल अघि थ्री पोइन्ट कम्पिटिसन हुने
प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा थ्री पोइन्टमा सहभागीले १ मिनेट थ्री पोइन्ट सट गर्नेछ । त्यस मध्येबाट उत्कृष्ट तीन खेलाडि छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्येबाट एक मिनेटमा जसले बडी थ्री पोइन्ट बास्केट गर्नेछ । उही थ्री पोइन्ट च्याम्पियन घोषित हुनेछ । थ्री पोइन्ट च्याम्पियनले नगद दुइ हजार, कफी पव फुड भौचर, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, रेवाहाङको वुवा रेवतीरमण राई, धरान मेघा हिमालयनका प्राचार्य भाष्कर पौडल, प्रदेश १ बास्केटवल टिम कप्तान नविन राई, बास्केटबल खेलाडी हेमन्त राईको उपस्थिति रहेको थियो ।