धरानः सरकारी स्कुलमध्ये धरानलगायत प्रदेश १ मै धेरै विद्यार्थी भएको धरान–१२ स्थित पब्लिक हाइस्कुलले ‘सरकारी स्कुलमा राम्रो पठनपाठन हुँदैन’ भन्ने भ्रमलाई चिर्दै गएको छ । यो विद्यालय नमूना विद्यालयकोरुपमा समेत छनौट भइसकेको छ ।
यहाँ कक्षा–११ र १२ मा १५ सय बढी र अन्य कक्षामा १२ सय बढीसहित जम्मा २८ सय ८६ विद्यार्थी अध्ययनरत् छन् । यसअघि २२ सय बढी विद्यार्थी अध्ययनरत् रहेको पब्लिकमा यसवर्ष २८ सय ८६ विद्यार्थी पुगेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । निरन्तर कक्षाकोठा थप्दै जाँदा कोठाकै समस्या रहेको उनले जानकारी दिए । ‘अहिले पनि विद्यार्थीको चाप छ, नयाँ शैक्षिक सत्र लागेकै छैन, कहिलेदेखि भर्ना शुरु हुन्छ भनेर अभिभावकले सोधिरहनुभएको छ, सरकारले पनि सहयोग गरिरहेको छ तर जति सहयोग भइरहेको छ, त्यसले पनि पुगिरहेको अवस्था छैन तर पनि निरन्तर कक्षाकोठा थप्ने प्रयासमा छौं ।’
उनका अनुसार विद्यालयमा अहिले सबैलाई कोटा छ, कोठा छैन भन्दै फर्काउनुपरेको उनले बताए । ‘सरकारी स्कुलमा के को कोटा भन्दै अभिभावक गुनासो पोख्छन्’, उनले थपे, ‘हुन पनि हो तर कोठा नभएपछि कोटा छ, कोठा छैन भन्नुपरिरहेको छ ।’
समय परिस्थितिअनुसार हिँड्न सक्दा यो सफलता मिलेको उनले बताए । अहिलेको समयमा अङ्ग्रेजी माध्यममा विद्यार्थी र अभिभावककै आकर्षण बढेको उनले बताए । ‘अहिले पनि विद्यार्थी, अभिभावकको चाहना भनेको अङ्ग्रेजी माध्यम हो, अहिले नेपाली कक्षा पनि चलाइरहेका छौं तर विद्यार्थी आउँदैन आउँदैनन् ।’ उनले थपे ।
विज्ञान सङ्काय बन्यो ब्राण्ड
पब्लिकमा विज्ञान सङ्काय ब्राण्ड बनेको प्लस टु कोअर्डिनेटर वीरेन्द्रबहादुर शाहले जानकारी दिए । सरकारी स्कुलमा विज्ञान सङ्कायप्रति विद्यार्थीको लगाव रहेको उनले बताए । ११ कक्षामा ३ सेक्सन विद्यार्थी आएपछि भर्ना रोकिएको उनले जानकारी दिए । ‘कक्षा–११ मा मात्रै तीनवटा सेक्सन चलाउनुपर्ने भयो, कोठाकै अभाव भएकोले हामीले भर्ना कार्यक्रम नै रोक्यौं, साँच्चै भन्ने हो भने पब्लिकमा विज्ञान सङ्काय ब्राण्ड बन्दै गएको अवस्था छ ।’ यस्तै, म्यानेजमेण्टमा पनि विद्यार्थी थपिँदै गएको उनको भनाइ छ ।
शिक्षकका कुरा
राम्रा कुरालाई समर्थन र नराम्रा कुरालाई विरोध गर्दै अघि बढाएको कारणले पनि विद्यालयले गति लिएको नेपाली शिक्षक विष्णुप्रसाद खतिवडाले बताए । ‘हामी नराम्रा कुरालाई विरोध र राम्रा कुरालाई समर्थन गर्दै आएका छौं, यसैले पनि यो विद्यालयले गति लिएको हामीले महसुस गरेका छौं’, उनले थपे ।
पहिला सामुदायिक विद्यालय भनेपछि कमजोर विद्यार्थी मात्रै पढ्ने, गरिबका छोराछोरी मात्रै पढ्ने सोच्ने धारणा रहेको बताउँदै उनले अहिले त्यो धारणा परिवर्तन भएको बताए । ‘अझ भन्ने हो भने समुदायले त पत्याउँदैन थिए नै स्कुलकै शिक्षकले समेत सरकारी स्कुल पढाउन भनेपछि विश्वास गर्दैनथे यहाँ पढाउने शिक्षकका छोराछोरी पनि निजी विद्यालय पुगेकै हुन्थे तर अहिले शिक्षककै छोराछोरी पनि यहाँ पढिरहेका छन् ।’ उनले भने ।
विद्यार्थीलाई एकैठाउँमा राख्दा यस्तो देखियो, भिडिओमा हेरौं र सुनौं प्रधानाध्यापक अनि शिक्षकका कुराः
तस्वीरहरुः हाम्रो कोशी आवाज














