धरानः भोलि धरानलगायत तराईका जिल्लामा रङ्गहरुको पर्व होली पर्व मनाइँदैछ । उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होलीमा अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले कडाइ गर्ने भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले होली पर्व संयम अपनाएर परिवारजन, साथीभाइसँग खेल्न उनले आग्रह गरे । उनले अवाञ्छित गतिविधि, ट्राफिक नियम उल्लङ्घन (मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकलमै तीनजनाभन्दा बढी यात्रु चढाएर हुइँक्याउने, ठूलो हर्न बजाउने मोटरसाइकल कुदाउने आदिजस्ता गतिविधि) गरे सम्झाइ बुझाइ गर्ने अटेर गरे नियन्त्रणमा लिएर कारवाही गर्ने बताए । ‘कसैले यस्ता किसिमका कसुर गरे, सम्झाइबुझाइ गर्छौं’, उनले भने, ‘नमाने पक्राउ गरेर कारवाही पनि गर्न सकिन्छ ।’
यस्तै, सडकमा मादक पदार्थ सेवन गर्दै हिँड्ने, अरुलाई जबरजस्ती फोहोर पानी हाल्ने र रङ्ग लगाउने जस्ता गतिविधि गरे पक्राउ समेत गरिने उनले जानकारी दिए । ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई सुरक्षा नियन्त्रण एवं निगरानीमा राखिने उनको भनाइ छ । होली मनाउने नाममा कानुनविपरीत हुने सबै गतिविधिमाथि निगरानी बढाएर कडाइ गरिने उनले बताए । उनले धरानमा प्रहरीको मोबाइल टोली पनि खटाइने भएको छ । इलाका प्रहरी कार्यालयका सबै प्रहरी र आवश्यक परे अन्य प्रहरी पनि थप गरेर धरानमा कडाइ गरिने उनले जानकारी दिए ।
कुनै ठाउँमा अप्रिय घटना भएमा तत्काल परिचालन गर्ने र स्थितिलाई नियन्त्रणमा लिने गरी प्रहरीको ‘रिजर्ब’ फोर्स पनि तयारी अवस्थामा राखिने उनले जानकारी दिए ।
उनले (फागु) पर्वलाई संयमित र आपसी सद्भावका साथ मनाउन आग्रह गरेको छ । उनले उच्छृङ्खल गतिविधि नगर्न र मर्यादित तथा शान्तिपूर्ण तरिकाले होली मनाउन आग्रह समेत गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख भुवनबाबु खड्काले महिला तथा जो कसैलाई जबर्जस्ती रङ्ग दल्ने तथा लोला हान्ने कार्य गर्नु फौजदारी विरुद्धको कसुर भएको बताउँदै संयमित भएर होली खेल्न आग्रह गरे । उनले धरान ठाउँ–ठाउँमा सुरक्षा चेक प्वाइन्ट राखिने जानकारी दिँदै जबर्जस्ती लोला हान्ने तथा रंग दल्ने, होहल्ला गर्ने, जबर्जस्ती अमर्यादित गैरकानुनी र उच्छृङ्खल व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र मोटरसाइकलमा तीनजना सवार रहने सबैलाई कारवाही गरिने जानकारी दिए ।