धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका राष्ट्रपति कप जित्ने खेलाडीलाई सम्मान गरिएको छ ।
विजयी भएका खेलाडीहरुलाई शनिबार सुनसरीको अमाह तालमा सम्मान गरिएको हो । विजयी खेलाडीहरुलाई विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झा, सहायक प्रधानाध्यापक लेखनाथ भट्टराई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, प्लस टु कोअर्डिनेटर वीरेन्द्रबहादुर शाह, सदस्य विवेक राईलगायतले अविर र खदा लगाएर सम्मान गरे । अरु भन्दा फरक किसिमले अवलोकन भ्रमणका साथमा विद्यार्थीहरुलाई ‘रिफ्रेस’ गराउने र खेल क्षेत्रमा अझै हौसल प्रदान गर्न अमाह तालमा सम्मान कार्यक्रम राखिएको उनले बताए ।
हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्डअन्तर्गत विभिन्न खेलकुद विधामा सफलता मिलेको हो । भलिबल प्रतियोगिताअन्तर्गत छात्रछात्रा दुवैले धरानभरीका विद्यार्थीलाई जित्दै सफलता हात पारेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । यस्तै, पब्लिककै विद्यार्थीले कवड्डी, रिले दौड, उसु, एथ्लेटिक्स, कराँतेलगायत अन्य विधामा पनि प्रथम, दोस्रो र तेस्रो बनेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीले अबदेखि विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै जाने बताए । उनले विद्यालयका विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिन विशेष कार्यक्रम ल्याइने बताए । प्रधानाध्यापक झाले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पब्लिकमा विद्यार्थी अघि बढ्दै गएको बताए । धरान उप–महानगरपालिकाको आयोजनामा गत फाल्गुन २५ गते देखि २८ गतेसम्म राष्ट्रपति रनिङ कप आयोजना भएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक भट्टराई, शिक्षक बुद्धसागर सुवेदीलगायतले खेलाडी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा शिक्षकहरु सन्तोष रेग्मी, विष्णु खतिवडा, लोकेन्द्र राई, जीवनप्रसाद कोइराला, दुर्गा सापकोटा, इञ्जिनियरहरु सुजन खड्का, नवनित तिवारी, लेखापाल सञ्जय खनाल लगायतको उपस्थिति रहेको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज




















