धरानः छैटौं टुवोर्ग हराइजन राष्ट्रिय बास्केटबल कप धरानमा शुरु भएको छ ।
धरान-१७ स्थित श्री घोपा माविको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । क्लबका अध्यक्ष बसन्त राईको अध्यक्षतामा भएको कार्यक्रममा धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई प्रमुख अतिथि थिए । विशेष अतिथिमा नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा, एन्फा प्रदेश १ अध्यक्ष किशोर राई, जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीलगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव सूर्य राई गरेका थिए ।
चैत ११ गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजक हराइजन क्लबले जनाएको छ । क्लबका अध्यक्ष वसन्त राईका अुनसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार रुपैयाँ पाउनेछन् भने उदयीमान खेलाडीले ५ हजार पाउनेछन् ।
शनिबार भएको उद्घाटन खेलमा आयोजक हराइजन र त्रिभुवन आर्मी क्लबबीच भएको थियो । खेलमा आयोजकलाई १३१– ८६ स्कोरले हराउँदै आर्मीले प्रतियोगितामा विजयी शुरुवात गरेको छ । खेलको म्यानअफ द म्याच आर्मीका निश्चल महर्जन भए । उनले खेलमा सर्वाधिक २७ स्कोर गरेका थिए । प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको छ ।
तस्वीरहरुः लक्ष्मण थापा





