धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा शिक्षकका लागि तालिम आयोजना भएको छ ।
विद्यालयको पठनपाठनमा अझै गुणस्तरीयता थप्न तालिम आयोजना गरिएको विद्यालयका सञ्चालक, प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए । शुक्रबार एकदिन सञ्चालन भएको तालिममा स्कुलका सबै शिक्षकले सहभागिता जनाएका थिए । स्कुलका शिक्षकहरूको पेशागत विकासका लागि पनि यो तालिम आयोजना गरिएको उनले जानकारी दिए ।
‘सरकारी विद्यालयका शिक्षकलाई यस्ता थुप्रै तालिम प्रदान हुने भएपनि निजी क्षेत्रबाट भने शिक्षकलाई यस्ता तालिमको व्यवस्था कमै मात्र हुने गरेका छ’, उनले भने, ‘दक्ष प्रशिक्षकबाट तालिम प्रदान गर्न थालेपछि शिक्षकहरुले समेत खुसी महसुस गरेका छन्, निजी शैक्षिक संस्थामा यस्ता तालिम खासै सञ्चालन भएको देखिएको छैन, विद्यार्थीको पठनपाठन अझै प्रभावकारी बनाउन र शिक्षण पेशामा निखारता ल्याउन तालिमको व्यवस्था गरिएको हो ।’
स्कुलका कोअर्डिनेटर विजयसिंह थेबेले तालिमले शिक्षकलाई दिएको तालिम फलदायी भएको बताए । उनले कक्षाकोठा व्यवस्थापन, गुणस्तरीय शिक्षा, सिकाइ विधि आदिबारे तालिम दिइएको उनले जानकारी दिए । तालिमको सहजीकरण काठमाडौंबाट आएका पर्शुराम निरौलाले गरेका थिए ।









