धरानः स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको उपाधि धरान–१५ ले जितेको छ ।
शनिबार धरान रङ्गशालामा भएको फाइनल खेलमा वडा नं. ११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधि जितेको हो । उपाधिसँगै वडा नं. १५ ले नगद २ लाख पुरस्कार समेत जितेको छ । उपविजेता भएको ११ नं. वडाले नगद १ लाख पुरस्कारमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सेमीफाइनलमा पुगेका टिमहरुलाई पनि पुरस्कार दिने घोषणा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका छन् । १५ नं. वडा व्यक्तिगत पुरस्कारमा समेत अघि रह्यो १५ नं. वडाका गोल किपर प्रविण लिम्बू प्रतियोगिताको उत्कृष्ट गोल किपर घोषित भए ।
उत्कृष्ट मिड फिल्डर सुगम जिमी, उच्च गोलकर्ता मदन लावुङ, उत्कृष्ट प्रशिक्षक जुदास राई र फाइनल खेलको म्यान अफ द म्याच वसन्तकुमार बानिया घोषित भए । उनीहरु १५ नं. वडाका खेलाडीहरु हुन् । त्यस्तै, वडा नं. ११ का अजय विष्ट उत्कृष्ट डिफेन्स घोषित भए । त्यस्तै, उत्कृष्ट स्ट्राइकर वर्तमान राई घोषित भए । प्रत्येकलाई नगद ५ हजार रुपैयाँसहित मेडल प्रदान गरिएको थियो ।
फाइनल खेलमा वडा नं. ११ ले उत्कृष्ट अवसरहरुमा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । वडा नं. ११ का हेमन्त थापा मगरले प्रहार गरेको दुईवटा फ्रिकिक बारमा लागेर फर्किएको थियो ।
खेलको १३ औं मिनेटमा नै १५ नं. वडाका वसन्त बाँनियाले विपक्षी गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । त्यस्तै, खेलको ५० औं मिनेटमा डिबक्स भित्र ११ नं. वडाका खेलाडीले १५ नं. वडाका सुगम जिमीलाई लडाएपछि पाएको पेनाल्टीमा १५ नं. वडाका मदन लावुङले गोल गर्दै प्रतियोगिताको उच्च गोलकर्ता भएका थिए । उनले प्रतियोगितामा ५ गोल गरे ।
प्रतियोगिताको आयोजना धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितिले गरेको हो भने व्यवस्थापन धरान भेट्रान्स फुटबल क्लबले गरेको थियो । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगितामा गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी थिए । ८ टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा भएको प्रतियोगितामा समूह विजेता र उपविजेता सेमिफाइनलमा पुगेका थिए । प्रतियोगिता फागुन २८ गते सुरु भएको थियो ।