धरानः यही चैत्र १५ गतेदेखि शुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएको छ ।
प्रतियोगिता आयोजनाको अन्तिम तयारीमा रहेको आयोजक धरान मेघा हिमालयन कलेजले आइतबार कफी पव एण्ड रेष्टोको हलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । प्रतियोगितामा धरान र धरान आसपासका जिल्ला तथा क्षेत्रका विद्यालयका बास्केटबल टिमले सहभागिता जनाउने भएको छ । सहभागिता विद्यालयहरुमा आयोजक ए र वि, कार्मेल स्कुल, एम्स एकेडेमी, होलिल्याण्ड स्कुल, धरान आदर्श, समिट स्कुल, आइडल स्कुल, सियोन स्कुल, बिर्तामोड, पदम मेमोरियल, विष्णु स्कुल, हिमशिखर तरहरा, जुनियर पायनोर, सुम्निमा स्कुल र डिपो स्कुल रहेको छ ।
सहभागी टिममा १९ वर्षका तथा २० वर्ष नपुगेका ११ र १२ कक्षाका ६ जना र १० कक्षा सम्मका ६ जना खेलाडिले सहभागिता जनाउन पाउनेछन् । १० कक्षा सम्मका हकमा भने १२ जना खेलाडीले नै सहभागिता जनाउन सक्ने आयोजकले जनाए ।
प्रतियोगिता दिवंगत उदयमान बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा हुन लागेका हुन । बास्केटबल खेलमा सम्भावना वोकेका उदयमान खेलाडी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । १० कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असमयिक निधनपछि उनको सम्मानमा अभिभावक, धरान मेघा हिमालयन, सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल बास्केटबल संघका केन्द्रीय अध्यक्ष सुरजकुमार लामाले पत्रकार सम्मेलनमा वताए ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि १ न. प्रदेशका सामाजिक विकास मन्त्री माननीय राजन राईले गर्ने र समापन प्रमुख अतिथि १ न. प्रदेश मुख्यमन्त्री माननीय राजेन्द्र राईले गर्ने पत्रकार सम्मेलनका सभाध्यक्ष तथा आयोजक धरान मेघा हिमालयन कलेजका म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेमले जानकारी गराए ।
धरान बास्केटवल संघको संयोजन, सुनसरी बास्केटबल संघ तथा धरान १२ नं. वडा कार्यालयको सहयोगमा सम्पन्न प्रतियोगिताका विजेताले नगद पन्द्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरी प्रतियोगिताको व्यक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडीलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफी पव एण्ड रेष्टोको फुड भौचर, ट्रफी र प्रमाणपत्र प्रप्त गर्नेछ । उदयीमान खेलाडीले ट्रफ्री, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन ।
चैत्र १५ गते देखि १९ गतेसम्म सम्पन्न हुने प्रतियोगिता वाट काठमाण्डौमा हुन लागेको २३ वर्षमुनिका राष्ट्रिय बास्केटबल प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनौट गरिने प्रदेश १ बास्केटवल प्रशिक्षक एवं प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईले जानकारी गराए । गत वर्ष उक्त प्रतियोगितामा धरान मेघा हिमालयन कलेजले सुुनसरीको प्रतिनिधित्व गरेका थिए ।
प्रतियोगिताको फाइनल खेलअघि कफि पव थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागि खेलाडिले १ मिनट थ्री पोइन्ट सट गर्नेछ । त्यसमध्येबाट उत्कृष्ट तीन खेलाडी छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्येबाट एक मिनेटमा जसले वढी थ्री पोइन्ट बास्केट गर्नेछ उही कफि पव थ्री पोइन्ट च्याम्पियन घोषित हुने संयोजक चाम्लिङले जानकारी गराए । थ्री पोइन्ट च्याम्पियनले नगद दुइ हजार, कफि पव फुड भौचर, ट्रफि र मेडल प्राप्त गर्नेछ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, रेवाहाङको बुबा रेवतीरमण राई, धरान मेघा हिमालयनका, प्रदेश १ बास्केटवल टिमका पुर्व कप्तान हेमन राई, बास्केटवलका प्राविधिक सदस्य सन्दिप राई लगायतको उपस्थिति रहेको थियो ।