धरानः स्काउटिङको क्षेत्रमा योगदान गर्दै आएको न्यू भिजन ओपन क्रिउले दुईदिने प्रयोगात्मक क्याम्पको आयोजना गरेको छ ।
‘शारीरिक, मानसिक एवम् सामाजिक सन्तुलनका लागि एनभिओसी क्याम्प’ भन्ने मूल नाराका साथ सुनसरीको धरानस्थित जिल्ला स्काउट कार्यालयको प्राङ्गणमा क्याम्पको आयोजना भएको हो ।
भैपरी आउने कठिन परिस्थितिसँग जुध्न १४ जना रोभर रेन्जरलाई टेन्ट पिचिङ, ग्याजेट मेकिङ, क्याम्प फायर, सर्वधर्म सभा, बीपी व्यायामलगागतका क्रियाकलापहरु बारे प्रशिक्षण गराइएको थियो । स्काउटको माध्यमद्वारा युवाहरुलाइ कर्तब्यनिष्ट, अनुशासित, आत्मनिर्भर, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने उद्देश्यका साथ क्याम्पको आयोजना गरिएको आयोजकले जनाएको छ । समाजलाइ आवश्यक परेको बखत सशक्त युवाको सक्रिय भूमिका रहने साथै सुसज्जित समाज निर्माण गर्न यस क्याम्पले टेवा पुरयाउने आयोजक पक्षको विश्वास छ ।
चैत ११ देखि १२ गतेसम्म आयोजित कार्यक्रममा ९ रोवर, १२ रेन्जरलगायत स्काउटिङ क्षेत्रका अन्य पदाधिकारिहरुको उपस्थिति रहेको पुष्पा कटुवालले जानकारी दिइन् ।
क्रिउका संस्थापक अध्यक्ष देवकुमार याख्खाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुनसरी जिल्लाका निमित्त जिल्ला आयुक्त ज्ञानु श्रेष्ठ थिए ।