Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मुख्यमन्त्री राई आउने

हाम्रो कोशी आवाज
चैत्र १८ २०७८, शुक्रबार
धरानमा मुख्यमन्त्री राई आउने

धरानः धरान मेघा–हिमालयन कलेजको आयोजना तथा धरान बास्केटबल संघको संयोजनमा सम्पन्न हुन लागिरहेको कार्यक्रममा सहभागी हुन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आउने भएका छन् ।
शनिबार दिउँसो १२ः३० बजेदेखि शुरु हुने फाइनल खेलको समापन समारोहमा उनी प्रमुख अतिथिको रुपमा सहभागिता जनाउने कलेजका प्रिन्सिपल भाष्कर पौडेलले जानकारी दिए ।
यसैबीच धरान मेघा–हिमालयन कलेजको आयोजना तथा धरान बास्केटवल संघको संयोजनमा सम्पन्न धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा र एम्स एकेडेमी भिड्ने भएका छन् ।
आयोजक धरान मेघाले डिपो स्कुललाई ५२–३४ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । धरान मेघाको तर्फबाट योगेश राईले उत्कृष्ट प्रदर्शन गर्दै धरान मेघालाई फाइनल यात्रा गराएका छन् । उनले ६ वटा थ्री पोइन्टसहित व्यक्तिगत २७ अंक जोडेका थिए । खेलको पहिलो क्वाटरमा ९–१३ अंकको अन्तरले पछि परेको धरान मेघाले दोस्रो क्वाटरमा ११–२, तेस्रो क्वाटरमा २२–९ र चौथो क्वाटरमा १०–१० बराबर अंक जोडेका थिए । हारसँगै डिपो स्कुल सेमिफाइनलसम्मको यात्रापछि प्रतियोगिताबाट बाहिरिएको छ ।
यसैगरी सोहीदिन भएको दोस्रो सेमिफाइनल खेलमा एम्स एकेडेमीले सियोन स्कुललाई ५१–४७ अंकको झिनो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । सियोनका साहिल तामाङले उत्कृष्ट प्रदर्शन गरेपनि टिमलाई जीत दिलाउन भने सकेनन । उनले सियोनका लागि व्यक्तिगत २४ अंक जोडेका थिए ।
अत्यन्त प्रतिस्पर्धामक भएको खेलमा पहिलो क्वाटरमा एम्स १४–१० अंकले अगाडि रहेको थियो । दोस्रो क्वाटरमा सियोन स्कुल खेलमा फर्किदै १५–१० अंक जोड्दै दोस्रो क्वाटरमा अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा एम्सले १९–६ अंकको फराकिलो अन्तर बनाउँदै तेस्रो क्वाटर सकिन्दा एम्सले खेलमा अग्रता लिएको थियो । चौथो क्वाटरमा सियोनले १६–८ अंकको अग्रता बनाएपनि ४ अंकको अन्तरले पराजित हुँदै सियोन प्रतियोगिताबाट बाहिरिएको थियो । एम्सका तर्फबाट सितम लिम्बूले व्यक्तिगत १८ अंक जोडेका थिए ।
दिवंगत उदयमान बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा मंगलबारदेखि प्रतियोगिता सम्पन्न भएको हो । चैत्र १५ गतेदेखि सुरु भएका प्रतियोगिताका बिजेताले नगद पन्ध हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद एक हजार ५ सय, उत्कृष्ट स्कोरले नगद १ हजार, कफी पव एण्ड रेष्टोको फुड भौचर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । कफी पव थ्री पोइन्ट च्याम्पियनले नगद दुई हजार, ट्रफी र उदयीमान खेलाडीले ट्रफ्री, कफी पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेलअघि कफी पव थ्री पोइन्ट कम्पिटिसन हुनेछ ।

प्रकाशित मिति: चैत्र १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend