धरानः धरानका पेट्रोल पम्पहरुमा पेट्रोल अभाव भएको पाइएको छ ।
धरानका सबै पम्पहरुमा सूचना टाँसिन थालिएको छ ‘पेट्रोल छैन’ भनेर । पम्पहरुमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएपछि पम्पअगाडि नै बोतलमा राखेको पेट्रोल महङ्गो मूल्यमा किन्न भने पाइन्छ । त्यहाँ पनि लुकीछिपी हिसाबले पेट्रोल बिक्री–वितरण भइरहेको पाइएको छ । ‘बाहिरै राख्यो भने निकै अप्ठ्यारो पर्छ भनेर भित्र नै राखिएको छ’, धरान–८ मा पसल सञ्चालन गर्दै आएकी एक महिला भन्छिन् ।
पेट्रोलियम पदार्थको बिक्री बापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव भएको हो । व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाइनुपर्ने, डिजेल पेट्रोल बोक्ने ट्याङ्करको भाडा बढाइनु पर्नेलगायतका माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिइरहेका छन् ।
भारतबाट १८ चैतमा आएको नयाँ मूल्यसूची केही घपघट देखिएको छ । नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीमा प्रतिलिटर डिजेलमा २ पैसा, मट्टीतेलमा २२ रुपैयाँ १९ पैसा र हवाइ इन्धनमा ४ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ । पेट्रोलमा भने १ रुपैयाँ ४८ पैसा घटेर आएको छ । निगमले भने अझै मूल्यमा थपघट गरेको छैन ।
तर, पेट्रोलिमय पदार्थको ढुवानी रोकिएको छ । निगमले कमिसन कटौती गरेपछि व्यवसायीहरूले शुक्रबार रातिदेखि ढुवानी बन्द गरेका हुन् । डिजेल भने सबैजसो पम्पहरुले वितरण गरिरहेका छन् । बजारको किराना पसल, होटलहरुमा पानीको बोलतमा भरेर राखिएका पेट्रोल १७५ रुपैयाँसम्म बिक्री गरिरहेको पाइएको छ ।