Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मुख्यमन्त्री राईद्वारा पुरस्कार वितरण

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
धरानमा मुख्यमन्त्री राईद्वारा पुरस्कार वितरण

धरानः धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेज आफैले कब्जा जमाएको छ ।
शनिबार भएको फाइनल खेलमा एम्सलाई ४८–३० अंकको अन्तरले सहजरुपमा पराजित गर्दै धरान मेघाले उपाधिमाथि कब्जा जमाएको हो ।
धरान मेघाले पहिलो, दोस्रो र तेस्रो तीनै क्वाटरमा ८–४, १४–६ र १४–५ अंकको अन्तरले अग्रता लिएका थिए । चौथो क्वाटरमा भने १२–१५ अंकको फरक रहेको थियो । फाइनल खेलमा धरान मेघाको तर्फबाट युवाहाङ राईले व्याक्तिगत १४ अंक जोडे ।
उपाधिसँगै धरान मेघाले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता एम्स कलेजले नगद सात हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राई, धरान मेघा कलेजका अध्यक्ष केलाश लिम्बू, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ राईका बुबा एवं समाजवादी एसका धरान नगर अध्यक्ष रेवतीरमण राई, नेपाल ख्रिष्टीयन समाजका केन्द्रीय सचिव कुवेर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी धरान मेघाका योगेश राई घोषित भए । उनले नगद एक हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र र कफी पव फुड भौचर प्राप्त गरे । प्रतियोगिताका अवधिभर व्यक्तिगत ५९ अंक जोड्दै हाइ स्कोररका उपाधि सियोन स्कुलका साहिल तामाङले जिते । उनले नगद एक हजार रुपैयाँ, ट्रफी, कफी पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरे । उदयीमान खेलाडीको उपाधि सियोन स्कुलका पारुहाङ राई घोषित भए । उनले ट्रफि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फाइनल खेलअघि कफि पव थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो । कफी पव थ्री पोइन्टको उपाधि भने धरान मेघा कलेजका गगन राई र योगेश राईले चुमेको छ । उनिहरुले एक मिनटमा समान ७–७ बास्केट गर्दै उपाधि वाडेका थिए । उनीहरुले नगद दुई हजार रुपैयाँ, ट्रफी, कफी पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरे ।
दिवंगत उदयमान बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा चैत्र १५ गते देखि प्रतियोगिता शुरु भएको हो । डिपो स्कुलका विद्यार्थी रहेको रेवाहाङको स्मृतिमा कार्यक्रमको प्रस्ताव लिएर जाँदा विविध कारण देखाउँदै डिपो स्कुलले अस्वीकार गरेको कार्यक्रममा मन्तव्य दिने क्रममा रेवाहाङका अभिभावक रेवतीरमण राईले बताए । प्रस्ताव लिएर जाँदा धरान मेघा कलेजले सहजरुपमा स्वीकार गरेको बताउदै आयोजक धरान मेघा कलेज र बास्केटबल संघलाई उनले धन्यवाद दिए ।
कलेजले अतिरिक्त क्रियाकलापमा विशेष प्राथमिकता दिएको बताउँदै दिवंगत रेवाहाङ उदयमान बास्केटबल खेलाडीलाई सम्मान तथा खेलाडीहरुलाई प्रोत्साहन गर्न पाउँदा खुशी भएको कलेजका अध्यक्ष कैलाश लिम्वुले मन्तव्यको क्रममा बताए ।
कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ खेलकुद बोर्ड गठनमा ढिलाइ भइरहेको र चाँडै गठन गरी खेलकुदको कार्यक्रममा बास्केटबल खेल र प्रतियोगिताको अक्षयकोषलाई समेत सम्टने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतियोगिता धरान मेघा कलेजको आयोजना, धरान बास्केटबल संघको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । प्रतियोगिताको सम्पूर्ण खेल आयोजक धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो । तस्वीरः विकास चाम्लिङ

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend