धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा प्रतिभावान विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । धेरै प्रतिभावान विद्यार्थीमध्ये खुशी राई पनि एक हुन् । उनी स्कुलकी एक प्रतिभावान छात्रा हुन् ।
उनी कक्षा–४ मा पढ्छिन् । पढाइमा अब्बल उनी अतिरिक्त क्रियाकलापमा पनि खप्पिस छिन् । उनी नृत्य गर्न, चित्र कोर्न, गीत गाउन खप्पिस छिन् । कक्षामा सधैं प्रथम हुँदै आएकी खुशीले भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएको बताउँछिन् । ‘भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएकी छु’, उनी भन्छिन्, ‘सानैदेखि नै डाक्टर बन्ने लक्ष्य लिएर अघि बढेको हुँ ।’
उनकी मावलीको हजुरआमा लामो समयसम्म क्यान्सरको बिरामी भएर थलिएपछि हजुरआमाकै प्रेरणाले डाक्टर बन्ने लक्ष्य लिएको उनी बताउँछिन् । ‘हजुरआमा बिरामी भएर थलिनुभएको थियो, उहाँले तिमी डाक्टर बनेर हामीजस्ता बिरामीको सहजै उपचार गर्नु भनेर भन्नुहुन्थ्यो, त्यतिबेलैदेखि मैले डाक्टर बन्ने लक्ष्य लिएर अघि बढें ।’ उनले भनिन् ।
बुबा मनकुमार र आमा अञ्जना राईकी एक्ली छोरी उनी फुर्सदको समयमा नृत्य गर्ने, गाउने, चित्र बनाउने काम गर्छिन् । सानैदेखि नै फरक किसिमको व्यवहार देखाउने उनको स्वभावकै कारण नर्सरीदेखि मात्रै उनले पठनपाठन शुरु गरेको आमा अञ्जना बताउँछिन् । पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि नानी अब्बल रहँदा आफूहरुमा गौरवको महसुस हुँदै आएको उनी बताउँछिन् । बालिबालिकाहरुलाई अभिभावकले समय निकालेर ध्यान दिने, घरमा सहज वातावरण दिलाउने हो भने प्रगति गर्न सक्ने उनी सुझाउँछिन् ।
उनले सामाजिक सञ्जाललगायतमा बालबालिकालाई थोरै भुलाउने, परीक्षाको समयमा मात्रै होइन अन्य समयमा पनि ध्यान दिने गर्ने हो भने बालबालिकाको भविष्य उज्ज्वल हुने उनी बताउँछिन् । ‘परीक्षाको बेला मात्रै घोकाउने, मानसिक टर्चर दिने गर्नु हुँदैन’, उनले थपिन्, ‘अहिलेका बच्चालाई टर्चर नदिई माया गरेर पठनपाठन गरेको खण्डमा उनीहरुको भविष्य उज्ज्वल बन्छ ।’
स्कुलका सञ्चालक, प्रबन्ध निर्देशक गंगाराम राईका अनुसार खुशी विद्यालयको प्रतिभावान छात्रा हुन् । उनले स्कुलले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएकोले विद्यार्थीले प्रगति गर्दै आएको बताए । प्ले गु्रपदेखि कक्षा–११ (विज्ञान सङ्काय) सम्म अध्ययन अध्यापन हुँदै आएको स्कुलमा सबै खालका अतिरिक्त क्रियाकलाप हुँदै आएको पनि उनले बताए ।