Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको नवोदय स्कुलको अभिभावक दिवस भव्य

हाम्रो कोशी आवाज
चैत्र २५ २०७८, शुक्रबार
धरानको नवोदय स्कुलको अभिभावक दिवस भव्य

धरानः धरान-१६ लेखनाथ चोकस्थित नवोदय विद्या मन्दिर सेकेण्डरी स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ ।
ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । कक्षा नर्सरीदेखि कक्षा–१० सम्मका विद्यार्थीले नृत्यकला, गायनकला, विज्ञानकलालगायतको प्रतिभा देखाउँदा अभिभावक दङ्ग बनेका थिए । कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक कार्कीले अभिभावकको उपस्थिति, विद्यार्थीले देखाएको कलाले आफू मन्त्रमुग्ध बनेको बताए । ‘विद्यार्थीको यस्तो राम्रो प्रतिभा देखेर म पनि कार्यक्रममा अन्तिम समयसम्म रोकिएँ’, उनले भने, ‘अभिभावकको बाक्लो उपस्थिति, विद्यार्थीको यति राम्रो नृत्यकला, गायनकला, विज्ञानकला, नाटक कलाले मेरो पनि ध्यान मात्रै तानेन, मन्त्रमुग्ध नै बनें ।’
कार्यक्रममा बोल्दै युएन कलेजका क्याम्पस प्रमुख तथा नवोदय स्कुलका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले कोरोना कहरपछि अभिभावक र आफूहरुले विद्यार्थीको लुकेर रहेको प्रतिभा र कला हेर्न पाएको बताउँदै भने, ‘अहिले अभिभावकसामु आफ्ना बालबालिकाले प्रतिभा देखाएर पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् भन्ने प्रष्ट्याउन सकेका छन् ।’ उनले आउँदो शैक्षिक सत्रदेखि अझ नयाँ र व्यवस्थित ढङ्गले पठनपाठन साथै अतिरिक्त क्रियाकलापलाई पनि अगाडि बढाउने जाने बताए ।
उनले युएन, नवोदयमा अब प्ले गु्रपदेखि डिग्रीसम्म पठनपाठन हुने बताए । उनले स्कुलमा अहिले ‘ब्याचलर लेवल’ सम्म पठनपाठन हुँदै आएको र केही वर्षभित्रैमा डिग्रीको पनि कक्षा सञ्चालन गर्ने बताए । उनले अहिले युएन, नवोदय प्लस टु लेवलमा विज्ञान, कम्प्युटर साइन्स, होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट साथै ब्याचलर्स लेवलमा बिएचएम र बिबिएसमा पठनपाठन हुँदै आएको बताए ।
अध्यक्ष ज्ञानेश्वर झाले विद्यालय र कलेजस्तरमा गुणस्तरीय शिक्षा दिन कुनै कञ्जुस्याइँ नगर्ने बताए । ‘अहिले हामी जुन लेवलमा गइरहेका छौं, अझै निखार्दै गुणस्तरीय शिक्षामा कुनै कञ्जुस्याइँ गर्दैनौं,’ उनले थपे, ‘पठनपाठनमा निर्खार्दै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई अब्बल बनाउँछौं ।’
वर्षभरीमा उत्कृष्ट विद्यार्थीलाई सम्मान
कार्यक्रममा वर्षभरीमा उत्कृष्ट १६ विद्यार्थीलाई सम्मान गरिएको थियो । स्टुडेण्ट अफ दि इयर इशा राई बनिन् । उनलाई पनि सम्मान गरिएको थियो । यस्तै, वर्षभरीमै खेलकुदमा उत्कृष्ट तिर्सना मगर, मोष्ट क्रियटिभ विद्यार्थी ब्रिटिसा मगर, स्मार्ट विद्यार्थी मिलन श्रेष्ठ घोषित हुँदै सम्मानित भए । यस्तै, वर्षभरीकै उत्कृष्ट छात्रा नेहा डङ्गोल, उत्कृष्ट भाइस क्याप्टेन तिर्सना मगर, अनुशासित विद्यार्थी मेरिना श्रेष्ठ, आर्टिष्ट विद्यार्थी कुसुम राई, हेल्पिङ विद्यार्थी सुमिता घिसिङ, रेगुलर विद्यार्थी सोयुमा लिम्बू, छात्रतर्फ वेष्ट छात्र सरोज खत्री, वेष्ट कक्षा क्याप्टेन विद्यार्थी सुदेश कार्की, वेष्ट हाउस क्याप्टेन विद्यार्थी खुस्बु श्रेष्ठ, वेष्ट ह्याण्डराइटिङ विद्यार्थी सुदीक्षा राई, वेष्ट हेल्पिङ विद्यार्थी प्रमिला तिम्सिना, कोअपरेटिभ विद्यार्थी सुप्रिया राई घोषित भएका थिए । उनीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा खेलकुदका विविध गतिविधि (ब्याडमिन्टन, चेस, लुँडो, स्पोन रेस, वाटर रेस, स्किपिङ, म्युजिकल चेयर, हट पोटयाटो, चकलेट रेस, बिस्कुट रेस, वेलुन रेस, बेलुन ब्लाष्ट, फायर इन माउण्टेन, जेरी रेस, म्याथ रेस) मा प्रथम, दोस्रो र तेस्रो हुने छात्रछात्रालाई पुरस्कृत समेत गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिलगायतले पुरस्कृत गरे ।
कार्यक्रममा युपिएफका शान्ति दुत एवम् सामाजिक अभियन्ता रामबहादुर लिम्बू, युएन कलेजका काउन्सिलर सुमन बाँस्कोटा, नवोदय प्लस टु का साइन्स कोअर्डिनेटर आकाश अधिकारी, युएन कलेजका व्यवस्थापन प्रमुख जगत नेम्वाङ, शेयर होल्डर गणेश देवान, स्कुलका भाइस प्रिन्सिपल विद्याभूषण गुप्ता, नवोदय स्कुलका प्रशासक सन्तोष झालगायतको उपस्थिति थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend