धरानः नयाँ वर्षको आगमनसँगै नेपालकी चर्चित गायिका मेचु धिमालले न्यू इयर इभमा धरान तताउने भएकी छिन् ।
उनले धरानको पुतली लाइनस्थित कफी पव एण्ड रेष्टोमा आफ्नो लाइभ प्रस्तुतिले सङ्गीतका पारखी धरानेहरुलाई तताउने भएकी हुन् । बन्डल एजेन्सी धरानको इभेन्ट म्यानेजमेन्ट तथा कफी पवको आयोजनामा चैत ३० गते न्यू इयर इभ स्पेसल मेचु धिमाल नाइट हुन लागेको हो । सानैदेखि कला क्षेत्रमा रुचि भएकी मेचु भ्वाइस अफ नेपाल २०१९ मा टप ८ सम्म पुग्न सफल भएकी थिइन् । उनले अहिलेसम्म एक सय ५० भन्दा बढी गीत रेकर्ड गराइसकेकी छिन् ।
उनको डेढ दर्जनभन्दा बढी म्युजिक भिडियो बजारमा आइसकेको छ । यही महिना मात्र उनले भ्वाइस अफ किड नेपालकी पेमादीछेन तामाङ र रुक्साना लिम्बूसँग दुई वटा गीत बजारमा ल्याएकी छिन् । यससँगै सुप्रिम मल्लको साथमा अन्ताक्षरी बोलको गीत ल्याउने तयारीमा रहेको उनले बताइन् । उनको फँसायो नि मिठो बोलेर, उड्नु छ, गाग्रीको पानीलगायत गीतहरु ट्रेन्डिङमा पर्न सफल भइसकेको छ ।
धरान असाध्य मनपर्ने बताउने मेचुको यो तेस्रो पटक धरान भ्रमण हो । उनले न्यू इयर इभ स्पेसल मेचु धिमाल नाइटमा आफ्नो नयाँ पुरानासँगै डेढ दर्जन गीत गाउनेछिन् । उनको प्रस्तुति पछि पूर्वको चर्चित डिजे तथा कोरियोग्राफर ललित राईको डिजे सेसन रहने इभेन्ट व्यवस्थापन हेरेका वन्डल एजेन्सी धरानका प्रोप्राराइटर निकेन राईले जनाए । काउन्ट डाउन गरेर नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै कार्यक्रम समापन हुनेछ ।