धरानः धरान-१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलमा विदाइ कार्यक्रम आयोजना भएको छ ।
स्कुल प्राङ्गणमा २०७९ सालमा एसइई लेख्ने तयारीमा रहेका सातौं ब्याचका विद्यार्थीका लागि विदाइ कार्यक्रम आयोजना गरिएको थियो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी आफ्नो विद्यालयबाट एसइई परीक्षा दिने विद्यार्थीहरुलाई बिदाइ गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई अविर र खदा लगाएर विदाइ गरिएको थियो । विदाइ कार्यक्रममा बोल्दै प्रिन्सिपल तथा सञ्चालक तेजमान लिम्बूले विद्यार्थीहरुलाई प्रगतिको शुभकामना दिए । उनले धरान लिगामेन्टले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको उज्ज्वल भविष्य दिने खालको शिक्षा प्रदान गर्दै आएको बताए । उनले सफलताको लागि मिहिनेत नै प्रमुख तत्व रहेको भन्दै उत्कृष्ट नजिताको लागि अध्ययनशीलताका साथ अगाडि बढ्न आग्रह गरे ।
सञ्चालक दुर्गा सुवेदीले समाजमा स्थापित हुने वातावरण सिर्जना गर्ने खालको शिक्षामा जोड दिँदै आएको बताए । ज्ञान, सीप, व्यवहार र अनुशासनमा आफूहरुको लगाव रहेको र विद्यार्थीले पनि सोहीअनुसार ‘फलो’ गर्दै जानुपर्नेमा उनले जोड दिए । ‘डाक्टर, पाइलट र इन्जिनियर हुने व्यक्ति मात्रै सफल व्यक्ति हो भन्ने हामीलाई लाग्दैन’, उनले भने, ‘जुन क्षेत्र हामी रोज्छौं, त्यसैमा सफल भयौं भने त्यो नै उपलब्धि हो, त्यही भएर हामी सफल र सक्षम नागरिक बनाउन लागिपरेका छौं ।’
कार्यक्रममा विद्यार्थीले विद्यालयलाई मायाको चिनो समेत प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीले गीत र नृत्य पस्किएर मनोरञ्जन समेत दिएका थिए । कार्यक्रममा प्रिन्सिपल लिम्बू, सञ्चालक सुवेदी, सहायक प्रिन्सिपल सोनु राई सुवेदी, फाउन्डर सदय जुनु लिम्बू, कोअर्डिनेटर संगीत श्रेष्ठ, डिसिप्लिन इन्चार्ज अशोक राईलगायतले विद्यार्थीलाई मायाको चिनो प्रदान गरेका थिए ।
कक्षा–९ की छात्रा रोनिशा विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कक्षा–९ का पवन विकले गरेका थिए । कार्यक्रममा कक्षा–१० की प्रत्यु्शा सुवेदीले धन्यवाद ज्ञापन गरेकी थिइन् । तस्वीरहरुः हाम्रो कोशी आवाज










































