धरानः धरान-धनकुटा सडक खण्डअन्तर्गत धरान–भेडेटार सडक खण्डमा बस र टेम्पो एक आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा टेम्पो चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा टेम्पो चालक धरान-१७ बस्ने अन्दाजी ३५-४० वर्षका खड्ग विक रहेका छन् । उनको स्थायी घर सुनसरी भरौल रहेको र धरान-१७ बस्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।
धरान-४ देवीस्थान भन्ने ठाउँमा सो दुर्घटना भएको हो । धरानतर्फ आउँदै गरेको को२ह ७०४१ नम्बरको टेम्पो र धरानबाट तेह्रथुम जाँदै गरेको को१ख ४४८० नम्बरको बस एकआपसमा जुध्न पुगेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
टेम्पोमा सवार एकजना महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा ताप्लेजुङ घर भएकी वर्ष १५ की उषा लिम्बू रहेकी छिन् । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बसका चालक धनकुटाको महालक्ष्मी नगरापलिका २ घर भई हाल धरान-१७ बस्दै आएका ४५ वर्षीय गोविन्द कटुवाल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा कुन सवारी कस्तो अवस्थामा थियो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बसले टेम्पोलाई शुरुमा ठक्कर दिन पुगेको थियो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -यसअघिको समाचारको शीर्षकमा बसले टेम्पोलाई ठक्कर दिँदा हुन गएकोले सच्याइएको छ ।