धरानः बिहीबार बैशाख १ गते नेपाली नयाँ वर्ष २०७९ को अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा यो वर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेशपायल राई धरानको बगरकोटनजिकै रहेको लुकुवा फेमिली रिसोर्टमा पुगेका थिए ।
‘मैले मायाले दिएको चिनो फाल्यो कि राख्यौ’ भन्दै स्टेज प्रवेश गरेका गायक राजेश पायल राईले दर्शकलाई भरपुर मनोरञ्जन गराए । राति ९ बजे स्टेज उक्लिएका उनले करिब दुईघण्टा दर्शकलाई आफ्नो गलाको कलाले झुमाएका थिए ।
उनले धराने दर्शकलाई दर्शन नमस्ते, नाइँ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा, टल टल, सायारेम, दुई चुल्ठी बाट्नेलाई, हुरुक्कै भए म लगायतका आफ्ना डेढ दर्जन लोकप्रिय गीतहरु पस्किँदा दर्शकले लगातार साथ दिइरहे । राईलाई गीतमा वान्स मोरको वर्षा भएको थियो भने राई इज किङको सांगीतिक उपाधि पाएका राईले दर्शक लाई निरास बन्न दिएनन् ।
उनले लगातार आफ्ना पुराना र नयाँ हिट गीतहरु पस्केका थिए । यता ननस्टप चलेको नयाँ वर्षको साङ्गीतिक खुशी र उनको प्रस्तुति देश विदेशका दर्शकले पनि फेसबुक लाइभबाट हेर्न पाइरहेका थिए । ब्यस्त गायक राजेशपायलको अब भने रोमानिया, सिक्किम, युके, युएसए र क्यानडामा म्युजिकल टुर रहेको छ । कार्यक्रमको अधिकांश समयमा उनले २०७९ सालभित्र लगठनगाँठो कसिसक्ने दर्शकलाई सुनाए ।
तस्वीरः प्रशान्त श्रेष्ठ

