धरानः द भ्वाइस किड्सबाट चर्चामा आएकी गायिका रुक्साना लिम्बूले साङ्गीतिक कार्यक्रम र स्टुडियोमा गीत रेकर्ड गर्नमा एकदमै व्यस्त भएकी छिन् ।
दुई दर्जन गीत रेकर्ड गरिसकेकी रुक्सानाको स्वरमा अर्को गीत आएको छ । स्व. खेमराज गुरुङको सङ्गीत तथा टिका चाम्लिङको रचना रहेको गायक एपी शेर्पाको लोकप्रिय गीत ‘सम्झना नै आजभोलि’ लाई रुक्साना लिम्बूको स्वरमा किड्स भर्सनको रुपमा रेकर्ड गरि स्टुडियो भिडियो सार्वजनिक गरिएको छ ।
सो गीत गायक एपीलाई चिनाउने गीत हो । २०६६ सालमा सार्वजनिक एल्वम ‘मेहनत’ मा समावेश यो गीतले त्यसबेला निक्कै चर्चा कमाएको थियो । त्यही गीतलाई रुक्सानाले एकदमै भावमा डुबेर गाएको र सबैले मनपराउने कुरामा गायक एपी ढुक्क छन् ।
सिल्भर इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको भिडियोको छायाङ्कन भुपेन्द्र तुम्वाहाङ्फे र सम्पादन अर्जुन खड्काले गरेका छन् भने पृथक स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।
