Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चुनावी चर्चा

हाम्रो कोशी आवाज
बैशाख ३ २०७९, शनिबार
धरानमा चुनावी चर्चा

धरानः धरान उपमहानगरपालिकामा अधिकांश वडाध्यक्ष दोहोरयाउने सुरसारमा छन् । केही वडाबाहेक अधिकांश वडामा वडाध्यक्ष दोहोरिने सङ्केत गरेका छन् । कतिपय कामहरु अधूरो रहेको र ती काम पूरा गर्नुछ भन्दै वडाध्यक्ष दोहोरिन खोजेका हुन् । त्यस्तै, कतिपयले आफूहरुले राम्रो काम गरेको र त्यसैलाई निरन्तरता दिनका लागि वडाध्यक्षमा आकाङ्क्षा देखाएको बताएका छन् ।
धरान–२ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठले एक कार्यकाल, एक पद र ७० वर्ष उमेर पुगेपछि राजनीति गर्नु हुँदैन भन्दै वडाध्यक्ष नदोहोरिने घोषणा गरेका छन् । उनी काङ्ग्रेसबाट जितेका जनप्रतिनिधि हुन् । ‘यहाँबाट सिङ्गल नाम सुधिरसिंह लिम्बूको गएको छ’, उनले भने, ‘विशेषतः सत्ता र शक्ति पाएपछि नछाड्ने प्रवृत्ति छ, यसलाई चिर्न पनि म नउठेको हुँ ।’ उनले फोन सम्पर्कमा भने । उनले युवाहरुलाई ‘चान्स’ दिएको बताएका छन् ।
एमालेबाट वडाध्यक्ष जितेका धरान–२० का वडाध्यक्ष मणिराम राईले पनि नदोहोरिने सङ्केत गर्दै तीनजनाको नाम सिफारिस गरिएको बताए । धरान–२० बाट प्रेम राई, महाशेर राई र रायबहादुर राईको नाम सिफारिस भएको उनले जानकारी दिए ।
यस्तै, धरान–९ को वडाध्यक्षमा एमालेबाट निर्वाचित रत्नबहादुर कटुवालले नदोहोरिने जानकारी दिएका छन् । त्यहाँबाट एमालेबाटै शिव राईको नाम पुगिसकेको छ ।
धरान–११ एमालेका बाबुलाल लामाले जितेका थिए तर उनको नाम गएको छैन । वडाध्यक्षकै लागि शोमा याक्खा, किरण राईको नाम गएको छ ।
अन्य सबै आकांक्षी
धरान-१ बाट रोशन अधिकारीले पनि यसपटक पनि आकांक्षा राखेका छन् । उनी कांग्रेसबाट निर्वाचित हुन् । यस विषयमा जिज्ञासा राख्दा उनले भने, ‘जनताले मानेको र नेताले मानिरहेका छैनन्’, उनले भने, ‘तर वडा नं. १ मा धेरै काम भएका छन्, वडा कार्यालय आफ्नै, पार्क निर्माण, आफ्नो वडाको पैसा लगाएर ५२ लाखको खहरे करिडोर, साँघुरो बाटो निर्माण, १६ वटा रोड निर्माण, विपन्न, दलित ३५ घर परिवारलाई विगत ४ वर्षदेखि निःशुल्क स्वास्थ्य बिमा, टेम्पो तालिम, महिला, बालबालिकाका लागि कार्यक्रम, प्रत्येक वर्ष रक्तदान, विपन्न परिवारलाई व्यक्तिगत ५–६ जना बालबालिकालाई निःशुल्क शिक्षा, ज्येष्ठ नागरिकका लागि एक लाख बजेट विनियोजन गरेको छु ।’
एमालेबाट धरान–३ का आशाकुमार श्रेष्ठको नाम पनि सिफारिस भइसकेको छ । उनी एमालेबाट निर्वाचित हुन् । ‘नाम गइसकेको छ, पार्टीले के गर्छ हेरौं ।’ उनले भने ।
धरान–४ बाट एमालेले जितेको थियो । मानबहादुर राईलगायत टिमकै नाम पठाइएको उनले जानकारी दिए । धरान–५ बाट वडाध्यक्षसहित सबै दोहोरिने सङ्केत गरेका छन् । सन्तोष लिम्बूसहितको टिमले नै कांग्रेसबाट जितेको थियो । यसपटक पनि आफ्नो नाम सिफारिस भइसकेको उनले जानकारी दिए ।
धरान–६ मा एमालेबाट निर्वाचित भुवनसिंह बस्नेत, गोमा खनालको नाम वडाध्यक्षमा गइसकेको खनालले जानकारी दिइन् । धरान–७ बाट एमालेबाटै एक मतले जितेका जीवन सुवेदीको नाम सर्वसम्मतरुपमा गइसकेको वडा सदस्य गीता पाख्रिनले जानकारी दिइन् ।
धरान–८ बाट एमालेबाट निर्वाचित वडाध्यक्षमा वडाध्यक्षसहित रुद्रबहादुर लिम्बूसहित धनबहादुर राई, जयन्त गौतम, लक्ष्मण दास, खड्ग विश्वकर्मा, सन्तोष तामाङ, सिर्जना खवास, रविन्द्र श्रेष्ठको नाम गइसकेको छ ।
एमालेले नै जितेको धरान–१० मा श्रीप्रसाद लिम्बूसहित नारायण लिम्बू, विवेक राईको नाम पनि अघि सारिएको छ । धरान–१२ को वडाध्यक्षका लागि एमालेबाटै यसअघि जितेका टंकबहादुर राईको नाम गइसकेको छ । यस्तै, उनीससहित ब्रह्मज्ञ भट्टराईको नाम सर्वसम्मतले गइसकेको उनले जानकारी दिए ।
धरान–१३ बाट नेत्र काफ्लेको पनि नाम सर्वसम्मत भइसकेको वडा सदस्य कमला श्रेष्ठले जानकारी दिइन् । धरान–१४ कांग्रेसले जितेको वडा हो । वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले दोहोरिने सङ्केत गरेका छन् । उनीसहित सन्तोष सापकोटा, मानव चौहान, श्याम श्रेष्ठ, सीता पौडेल, मञ्जुल कसजुको नाम पनि गइसकेको छ निर्णय हुन भने बाँकी रहेको उनले जानकारी दिए ।
एमालेले जितेको धरान–१५ मा बाट नरेश इवारम, हिमाल लिम्बू, गणेश प्रधान, सन्तोष राई, हिमाल दाहाल, बादल भट्टराई, ज्ञानेन्द्र बस्नेत, रुपक श्रेष्ठ, इन्द्रजीत पोखरेल, मैया तामाङ, जीवी खड्काको नाम गइसकेको र आफ्नो काम गर्ने शैली जनताले मन पराएकोले यसपटक आफू दोहोरिन खोजेको इवारमले जानकारी दिए ।
धरान–१६ मा एमालेले जितेको थियो । वडाध्यक्ष दिलकुमार गिरीसहित हिमाल कार्की, दीपक आचार्यको नाम गइसकेको छ । धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले जनताले जे चाहन्छन् सोही अनुसार हुने र अहिले केही निर्णय नभएको बताए । यहाँ माओवादी केन्द्रले जितेको थियो ।
धरान–१८ का लागि प्रविन राईको नाम सर्वसम्मत भएर गइसकेको छ । तीनजना पुराना सदस्यसहितको टिम नै वडाध्यक्षका लागि आकांक्षी रहेको र नाम नै गइसकेको उनले जानकारी दिए । एकजना सदस्यबारे निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए । धरान–१९ मा एमालेकै पूर्णबहादुर लिम्बूले दोहोरयाउने सङ्केत गरेका छन् । उनीसहित अन्य सदस्यको नाम सर्वसम्मत भइसकेको छ ।
अघिल्लोपटक अधिकांश वडामा एमालेले जितेको थियो । उपनिर्वाचन हुँदा कांग्रेसले अधिकांश वडा जितेको थियो ।
यसपटक रोचक प्रतिस्पर्धा
धरानमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन र एमालेबीचको द्विपक्षीय भिडन्तमा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको हो । अघिल्लोपटक एमालेले जितेको धरानमा उपनिर्वाचन हुँदा काङ्ग्रेसले बाजी मारेको थियो । काङ्ग्रेसले बाजी मार्दामा काङ्ग्रेस एक्लैले होइन, नेकपा माओवादी केन्द्रलगायतका केही साना दल पनि भित्रभित्रै लागेर काङ्ग्रेसले अधिकांश वडामा जितेको जानकारहरु बताउँछन् ।
धरानमा काङ्ग्रेसको सरकार आएपछि देखिएको जनताको निराशा आदिले पनि यसपटक कसले बाजी मार्ला भन्नेमा यसै भन्न सक्ने अवस्था भने छैन । काङ्ग्रेस आएपनि, कम्युनिष्ट आएपनि धरानको विकास निर्माण, खानेपानीलगायतले खासै गति लिन नसकेको भन्दै अहिलेदेखि नै सामाजिक सञ्जाललगायतमा आवाज समेत उठ्ने गरेको छ ।
उता काङ्ग्रेसले भने धेरैजसो वडामा एमालेका वडाध्यक्ष रहनु, आफ्नो बहमुत नहुनाले ‘केही काम गर्न नदिएको र केही गर्न नसकेको’ भन्दै मतदाता रिझाउन र कार्ड फाल्न थालेको लागिपरेको एक नेता बताउँछन् । उता, नेकपा एमालेले भने धरानमा कम्युनिष्टबाहेकले अर्कोले जिते खासै विकास हुनसक्ने भन्दै मतदातालाई कार्ड फालिसकेको छ ।
मेयरमा चर्चामा आएका मेयर तिलक राई र मेयरमै चर्चामा आएकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि धरानको जनप्रतिनिधिमा दोहोरिने चेष्टा गर्दै आएका छन् । यसले पनि निकै रोचक प्रतिस्पर्धा हुने आङ्कलन अहिलेदेखि नै हुन थालेको छ । लौरो उठाउँदा पनि एमालेले चुनाव जित्ने दावी गर्दै आएपछि एमालेका कार्यकर्ता खुबै रिसाएका थिए । यसपटक पनि एमालेका कार्यकर्ता छिन्नभिन्न छन् ।
उता मेयर बनिसकेपछि राईले कार्यकर्ता पङ्क्तिलाई नगन्ने, रिझाउन नसकेको गुनासो बढ्दै जानु, मेयर छँदा गरेका केही नराम्रा कामको मूल्याङ्कन आदिका कारण मेयर राई र उपमेयरबीच (टिकट पाए) रोचक प्रतिस्पर्धा हुने आँकलन गर्न थालिएको छ ।
काङ्ग्रेसबाट मेयरमा आकाङ्क्षी
काङ्ग्रेसबाट तिलक राई, किशोर राई, उमेश थापा, सुजेन्द्र तामाङ र श्याम पोख्रेलको नाम अग्रपंक्तिमा छ । सुजेन्द्र र श्यामले भने सभापति बन्नुअघि नै मेयर र उपमेयर नताक्ने घोषणा नै गरिसकेका छन् । यसपटक किशोर र उमेश थापामध्ये एकजनाले टिकट पाउने सम्भावना रहेको एक नेताले बताए ।
उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई रिझाउन सके तिलकले नै टिकट पाउने सम्भावना पनि छ । महिनाअघि धरान स्थापनाको १ सय २१ वर्ष पुगेको उपलक्ष्यमा मनाइएको (धरान डे) कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुरलाई बोलाएका थिए । त्यतिबेला तिलक नेतृत्व अर्थात् काङ्ग्रेसले एमालेको लालकिल्ला भत्काएको भन्दै निकै तारिफ गर्नुले पनि उनैले नै टिकट पाउने सम्भावना छ । उनी पछिल्लो समय पार्टीको आन्तरिक गुटउपगुटमा कतै नखुलेका कारण पनि उनकै सम्भावना छ ।
एमालेबाट मेयरमा आकाङ्क्षी
एमालेभित्र कुरै मिल्न नसकेपछि मेयरमा ११ जनाको नाम सिफारिस भइसकेको छ । मेयरमा उपमेयर मञ्जु, मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला, तीर्थ मास्केलगायतको नाम सिफारिस भइसकेको छ । उपमेयर पदमा सुशीला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम सिफारिस भएको छ ।
आदिवासी जनजातिको शहरका रूपमा समेत चिनिएको धरानमा उमेदवार जनजाति उठाउँदा बढी मत पाउने सम्भावना हुनाले जनजाति नेता नै उम्मेदवारका रूपमा चर्चामा छन् । चर्चामा रहेकी मञ्जु कार्यवाहक मेयर समेत भइसकेकी छिन् । मेयरका आकांक्षीका रूपमा विजय राईको नाम पनि चर्चामा छ । उनले झलनाथ खनाल प्रधानमन्त्री भएका बेला सचिवालयमा रहेर काम गरेका थिए । एमाले छाडेर अशोक राईले खोलेको पार्टीमा गएका उनी पछि डा. विजय सुब्बा लगायतका नेता एमालेमा फर्किँदा सँगै फर्किएका थिए । उनी हाल प्रदेश कमिटी सदस्य छन् ।
एमालेमै मोतीराज सुनुवारको समेत नाम चर्चा रहेको छ । उनी प्रदेश कमिटी सदस्य हुन् । यस्तै नारायण सुवेदीको नाम पनि चर्चामै छ । नेकपा हुँदा उनी नगर कमिटी अध्यक्ष थिए भने अहिले नगर इञ्चार्ज छन् । पूर्व उपमेयर मीन सुब्बा र पूर्व मेयर मनोज मेन्याङ्वोले पनि मेयरको उम्मेदवार बन्न चासो देखाएको चर्चा एमाले वृत्तमा छ ।
माओवादी केन्द्रबाट मेयरको सम्भावित उम्मेदवारका रूपमा केन्द्रीय सदस्य किरणकुमार राई र जिल्ला सदस्य आइन्द्रविक्रम बेघाको नाम चर्चामा छ । गठबन्धन भएर पक्कै चुनाव लड्नपरे आफ्नो पार्टीको निर्णायक हुने उनीहरुको दावी छ । अहिले विशेषगरी काङ्ग्रेस, माओवादी, एस र जसपा भने चुनावी गठबन्धन कसरी बन्छ भन्ने जोडघटाउमा छन् ।
धरानमा गुमेको शाख फर्काउन रणनीतिमा एमाले छ भने काङ्ग्रेस बल्ल पाएको साख जोगाउनै तल्लिन छ । काङ्ग्रेसले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरिसकेकाले एमालेलाई चुनौती छ भने उपमेयर अन्यलाई दिएर भएपनि मेयरमा जसरी पनि जित्ने दाउमा काङ्ग्रेस छ । गठबन्धन निश्चित नै हो र भइहाले काङ्ग्रेसले मेयरसहित केही वडाध्यक्षमै चित्त बुझाउनुपर्ने हुन्छ । यसो नभए मेयर नै नजित्ने काङ्ग्रेसमा डर छ ।

प्रकाशित मिति: बैशाख ३ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend